कांग्रेसको औंला नसमाती हिँड्न नसक्नेहरु चुनावसम्म गठबन्धनको कुरा गर्दैछन् : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठवन्धनका केही दल कांग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप लगाएका छन् । उनले आगामी चुनावमा एमाले कसैको वैशाखी नटेकी हिँड्ने र विजय हासिल गर्ने दावी गरे ।

नेपाल सम्वतका अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले १० वटै दल एमालेविरुद्ध एकजुट भएर आए पनि फरक नपर्ने बताए । उनले भने, ‘एमाले सिध्याउँछु भनेर पाँच होइन, १० वटै दल आए पनि एमालेलाई केही फरक पर्नेवाला छैन ।’

आफ्नो सरकार ढालेर कांग्रेसको औंला समातेर हिँड्नेहरुले चुनावसम्म गठबन्धन रहने कुरा गरिरहेको ओलीले बताए ।

‘कांग्रेसले चुनावसम्म गठवन्धन हुन्छ भनेको सुनेको छैन । जो कांग्रेसको औंला नसमाती हिँड्न सक्दैनन् उनीहरु यस्तो भन्दैछन् । तर, कांग्रेसले कहिलेसम्म औंला दिन्छ मलाई थाहा छैन,’ ओलीले भने ।

आफ्नो पार्टी एमाले अहिले फोहोरहरु पन्छिएर सफा बनेको ओलीले बताए । एमाले अब सदृढ एकताका साथ अगाडि बढ्ने भन्दै उनले एक्लै चुनाव लडेर जित्ने दावी पनि गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *