इटहरी । नेकपा (एमाले) को आसन्न १०औं महाधिवेशनका लागि इटहरीका मेयर द्वारिकलाल चौधरी र धरानकी उपमेयर मन्जु भण्डारी प्रतिनिधि भएनन् ।
उपमेयर भण्डारीले पार्टीमा प्रतिस्पर्धा नगरेर सहमतिका लागि प्रतिनिधि नबनेको बताएकी छन् । भण्डारी र उनका पति मुरारी सुवेदीले संयुक्तरूपमा उमेद्वारी फिर्ता गरे ।

इटहरीका मेयर द्वारिकलाल चौधरी पनि महाधिवेशन प्रतिनिधि चयन भएनन् । सुनसरी क्षेत्र नम्बर २ बाट सर्वसम्मत छनोट गरिएका प्रतिनिधिमा नपरेपछि चौधरीले सामाजिक सञ्जालबाट असन्तुष्टी पोखेका छन् । पार्टीमा ‘टीके प्रथा’ भएको भन्दै उनले गुनासो गरेका हुन् ।
चौधरीले भनेका छन्, ‘जबसम्म टीके प्रथाबाट प्रतिनिधि चयन बन्द हुँदैन, तबसम्म पार्टी सदस्यहरूको हक र अधिकारको उचित व्यवस्थापन हुँदैन ।’

केही दिनअघि नेकपा एस प्रदेश समिति अध्यक्ष बलदेश चौधरीसँग तस्बिर खिचाएका चौधरीले नेकपा एसका अध्यक्ष माधव नेपाल र मुख्यमन्त्री राजेन्द्र राईसमेत घरमा भेटघाट गरेपछि एमालेले उनलाई शंकाको दृष्टिले हेरेको छ । त्यही शंकाको कारण उनी महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुन नसकेको एमाले नेताहरू बताउँछन् ।

Leave a Reply