साइकल खरिदमा अनियमितताबारे विस्तृत छानविनपछि कारवाहीः अख्तियार

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको साइकल खरिदमा भ्रष्टाचार भएको बताएका छन् ।

अख्तियारले गत असोज १३ मा मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा अनियमितता देखिएको भन्दै कागजात नियन्त्रणमा लिएको अख्तियार बर्दिबासको कार्यालयले अहिले अनुसन्धान गरिरहेको छ ।

सो विषयमा अख्तियार बर्दिबासका प्रमुख सापकोटाले प्रारम्भिक चरणमा अनियमितता भएको देखिएपछि छुट्टै अनुसन्धान अधिकृत नियुक्त भएर विस्तृतमा छानविन प्रक्रिया अगाडी बढेको बताए । आफ्नो वार्षिक प्रतिवेदन प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाउन आएका उनले भने, ‘विस्तृत छानविनमा पनि अनियमितता देखिए कानून बमोजिम कारबाही अगाडी बढ्छ ।’

प्रमुख सापकोटाले संलग्न अधिकारीहरुको वयान लिने र विभिन्न प्रमाणहरुलाई परीक्षण गर्नुपर्ने लगायतका प्रक्रिया पुरा गर्न डेढ/दुई महिना लाग्ने बताए ।

प्रदेश प्रमुख मिश्रलाई बुझाइएको बार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा २ हजार ५९७ वटा भ्रष्टाचार सम्बन्धी उजुरी परेको उल्लेख छ । जसमध्ये १ हजार ४०१ उजुरी फस्र्योट भएको छ भने बाँकी उजुरी यस वर्षमा सारिएको छ । सबभन्दा बढी उजुरी स्थानीय तहमा भइरहेको भ्रष्टाचारसँग सम्बन्धित रहेको छ ।

बर्दिबासको कार्यालयको कार्यक्षेत्र धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, सिरहा, रामेछाप, संखुवासभा, खोटाङ र ओखलढुंगा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *