सुर्खेत । कालीकोटको पलाता गाउँपालिकाका एक वडा अध्यक्षले उमेर नपुगेका दुईजनालाई नागरिकताको सिफारिस दिएका छन् ।
कात्तिक २२ गते सिफारिस लिएर नागरिकता बनाउन जाँदा जिल्ला प्रशासन कार्यालय कालीकोटले उमेर नपुगेको भन्दै फर्काएपछि सो कुरा खुलेको हो ।
कालीकोटको पलाँता गाउँपालिका- २ का वडाध्यक्ष विद्धी कामी विरीले सोही वडाका सर्पनन्द न्यौपानेका छोराछोरी जीवनराम न्यौपाने र अस्मिता न्यौपानेलाई कात्तिक २२ मामा नागरिकताको सिफारिस गरेका थिए ।
नागरिकताका लागि सदरमुकाम अभिभावकसहित सदरमुकाम पुगेका उनीहरूलाई उमेर नपुगेको भनेर प्रशासनले घर पठाइदिएको हो । सिफारिसमा उल्लेख भएको जन्म मितिअनुसार अस्मिताको मंसिर १ र जीवनरामको भने २०७८ फागुन २४ गतेमात्रै उमेर पुग्ने देखिन्छ ।
राम्रोसँग नबुझी सिफारिस दिँदा अनावश्यक दु:ख पाएको भन्दै पीडितले वडाध्यक्षप्रति गुनासो गरेका छन् ।
यता, वडाअध्यक्ष कामीले भने वडा कार्यालयमा भेला बसिरहेको समयमा सिफारिस लिएर आएका कारण आफूले हस्ताक्षर गरिदिएको बताए ।
‘वडासचिवले सबै कुरा हेरेको होला भनेर मैले हस्ताक्षर गरेको हो ’, उनले नेपाल प्रेससँग भने, ‘तर उनलाई दुःख दिने मेरो नियत थिएन । वडा सचिवको भरपर्दा यस्तो समस्या आएको हो ।’



Leave a Reply