धितोपत्र बोर्डको अध्यक्षका लागि १२ जनाको पर्‍याे आवेदन, संभावना कसको बलियो ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ‘सेबाेन’ को अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन बिहीबारसम्म १२ जनाको आवेदन परेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

१२ जना मध्ये धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरी र उपकार्यकारी निर्देशक नवराज अधिकारीले समेत आवेदन दिएका छन । यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य, नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ का पूर्व कार्यकारी अधिकृत सिताराम थपलिया र बीमा समितका पूर्वअध्यक्ष चिरञ्जिवि चापागाइं लगायतको आवेदन परेको अर्थमन्त्रालयले जनाएको छ ।

यसैगरी केशवप्रसाद श्रेष्ठ, अनिल पौडेल, रमेश हमाल, हेमन्त बस्याल,जीवन अमगाई र अम्बिका शर्मा लामिछानेको पनि आवेदन परेको स्रोतले बताएको छ ।

यसअघिका अध्यक्ष भिष्मराज ढुंगाना सेयर विवादमा मुछिएपछि उनलाई सरकारले निलम्वित गरेको थियो । त्यसपछि रिक्त रहेको बोर्ड अध्यक्ष खुल्ला प्रतिस्पर्धामार्फत छनौट गर्ने भन्दै अर्थमन्त्रालयले सिलबन्दी आवेदन आव्हान गरेको थियो ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा तीन सदश्य सिफारिस समिति गठन भएको थियो । सिफारिस समितिले १५ दिनको समय दिएर कात्तिक ११ मा शिलबन्दी आवेदन आह्वान गरेको थियो । समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र प्राडा नारायण पौडेल रहेका छन् ।

सिफारिस समितिले अब १२ जना मध्ये ३ जनाको नाम सिफारिस गर्नेछ । तीन नाम मध्ये मन्त्रिपरिषदले १ जनालाई बोर्डको अध्यक्षको रुपमा चयन गर्नेछ ।

यसअघिका बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना सर्वोतम सिमेन्टको सेयर विवाद प्रकरणमा मुछिएपछि बोर्डबाट ढुंगाना निलम्वित भएका थिए । नेपालको सेयर बजार इतिहासमै पहिलो पटक बुक बिल्डिङ प्रणाली मार्फत सेयर निष्कासन गर्न लागेको सर्वोतम सिमेन्टको ६० लाख कित्ता सेयर निष्कासन पूर्व नै नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज(नेप्से) का प्रमुख कार्यकारी निर्देशक चन्द्रसिंह साउद र बोर्डका सञ्चालक तथा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर खरिद गरेको तथ्य फेला परेपछि तिनै जना विवादमा तानिएका थिए ।

११ हजार ९१२ कित्ता ढुंगानाले आफ्नी छोरी रेविका ढुंगानाको नाम र चन्द्रप्रसाद ढकालले १ लाख १९ हजार ११७ कित्ता आफ्ना भाई हेमराज ढकालको नाममा सर्वोतमको सियर खरिद गरेका थिए । तत्कालिन नेप्सेका सीइओ चन्द्रसिंह साउदले आफ्नी श्रीमती सुसिलाकुमारी बोहोराको नाममा १० हजार कित्ता सेयर अगाडी नै खरिद गरेको देखिएको थियो ।

नेप्सेका सीईओ चन्द्रसिंह साउद र बोर्ड सदस्य तथा महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नैतिकका आधारमा राजीनामा दिएपनि बोर्डका अध्यक्ष ढंगानाले राजीनामा दिन नमानेपछि भदौ १६ गते अर्थमन्त्रायको प्रस्तावमा मन्त्रिपरिषदले उनलाई निलम्बित गर्ने निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *