एमाले महाधिवेशनः रुपन्देहीमा आकांक्षी धेरै भएपछि प्रतिनिधि छान्न नेतृत्वलाई सकस

रूपन्देही । नेकपा एमालेका दुई उपमहासचिव विष्णुप्रसाद पौडेल र घनश्याम भुसालको गृहजिल्ला रूपन्देहीबाट पार्टीको महाधिवेशन प्रतिनिधिमा धेरै आकांक्षी भएपछि सर्वसम्मत बनाउन नेतृत्वलाई संकट हुने भएको छ ।

कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारी दर्ता गर्ने काम सुरु भएको छ । उपमहासचिव पौडेलको निर्वाचन क्षेत्र रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा ५० जनाको उम्मेदवारी दर्ता भएको छ ।

महाधिवेशन प्रतिनिधिका लागि खुल्लातर्फ ३५ र महिलातर्फ १५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य डिआर घिमिरेले जानकारी दिए । यस क्षेत्रबाट महिला ३ र खुल्लाबाट ८ गरि ११ जना महाधिवेशन प्रतिनिधि चयन हुने छन् ।

शिवराज सुवेदी, चित्रबहादुर कार्की, बासुदेव घिमिरे, भोजप्रसाद श्रेष्ठ, बावुराम भटराई, गोपाल भटराई, गोपाल राना, बाबुराम पन्थी, मोहन चापागाई, तेजेन्द्र केसी, दिनेश फुल्लेल, मिनप्रसाद पौडेल, खुसीराम चौधरी कमला विक, सावित्रा अर्याल, गुमादेवी आचार्य, ज्ञानु केसी, थान कुमारी थापा, जानकी न्यौपाने, कृष्ण पोखरेललगायतको उम्मेदवारी परेको छ ।

रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका रुपका लागि सुख्खानगरस्थित पार्टी कार्यालयमा उम्मेदवारी दर्ताको काम सकिएको छ ।

महाधिवेशन प्रतिनिधि छनौटमा निर्धारण गरिएको संख्याभन्दा निकै बढी आकांक्षी देखिएकाले सर्वसम्मत चयन हुने सम्भावना निकै कम रहेको छ । यसअघि नेतृत्वले सकेसम्म सर्वसम्मत प्रतिनिधि चुन्ने निर्णय गरेको थियो ।

रुपन्देहीबाट निर्वाचन क्षेत्र नं १ मा २ महिलासहित ६ जना, क्षेत्र नं ३ मा ४ जना खुल्ला र २ जना महिला, क्षेत्र नं ४ मा ४ जना खुल्ला र २ जना महिला, क्षेत्र नं ५ मा ४ जना खुल्ला र २ महिला महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान रहेको छ ।

जिल्लाबाट कुल ३३ जना प्रतिनिधि हुने व्यवस्था रहेको छ भने आकांक्षीको संख्या १ सयभन्दा बढी रहेको छ ।

करिब १७ हजार बढी सदस्य संख्या रहेको रुपन्देहीमा ३३ जना महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छ । एमालेले प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि छनौट हुने नियम बनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *