जनकपुरधाम । विद्यालय बन्द गरेर धनुषा जिल्लाभरका शिक्षक सुरक्षा माग्दै आन्दोलनमा उत्रिएका छन् । शिक्षकहरुले जनकपुरको रेल्वे स्टेशनबाट जुलस निकालेका छन् । जुलुसमा सयौं शिक्षक सहभागी छन् ।
उनीहरुले ‘शान्ति सुरक्षा कायम गर, शिक्षकलाई दुव्र्यवहार गर्नेमाथि कारबाही गर, जनमत पार्टी मुर्दावाद !’ जस्ता नारा लगाएका छन् ।
जनकपुरको विभिन्न भाग परिक्रमा गरी शिक्षकहरुले जिल्ला समन्वय इकाई र जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका छन् ।
कात्तिक १२ गते सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिरचन्द उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बैजु साहमाथि विद्यार्थीहरुले कालोमोसो फ्याकेर चप्पल प्रहार गरेका थिए । सो घटनामा संलग्नलाई एक हप्ताभित्र कारवाहीको दायरामा ल्याउन प्रशासनलाई शिक्षकहरुले ज्ञापनपत्र मार्फत अल्टिमेटम दिएका छन् ।
नियमित पठनपाठन नगराएको, अनावश्यक अतिरिक्त शुल्क असुल गरेको, कक्षा ११ र १२ को विद्यार्थीलाई पुस्तक नदिएको जस्ता आरोप लगाउँदै प्राधानाध्यापक साहलाई विद्यार्थीहरुले दुव्र्यवहार गरेका थिए । माग सम्बोधन नभएपछि दुव्र्यवहार गर्न बाध्य भएको विद्यार्थीहरुको भनाइ छ ।
आज जिल्लाभरका विद्यालय ठप्प पार्दा लाखौं विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् ।
प्रधानाध्यापक साहलाई दुव्र्यवहार गरेको घटनामा जनमत पार्टीको हात रहेको शिक्षकहरुको आरोप छ । तर घटना भएकै दिन जनमत पार्टीका राष्ट्रय अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टीको संलग्नता नरहेको दावी गरेका थिए ।

Leave a Reply