लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी भित्र्याउन गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई आग्रह गरेका छन् । संघद्वारा आज लन्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले लगानी भित्र्याउन सरकारले सुविधा दिने बताए ।
नेपालमा खोप भित्र्याउन एनआरएनले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले नेपाल चाँडै कोभिड-१९ मुक्त मुलुक हुने बताए । एनआरएनए बेलायतले उक्त अवसरमा प्रधानमन्त्री देउवालाई विभिन्न माग राख्दै ज्ञापन पत्र समेत पेश गरेको थियो ।
संघले दोहोरो नागरिकताको व्यवस्था, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल र बेलायतबीच सीधा हवाइ उडान, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था, वैदेशिक लगानीमैत्री वातावरण बनाउन माग गरेको छ । एनआरएन नेता तथा आगामी चुनावमा अध्यक्षका प्रत्यासी कूल आचार्यले प्रधानमन्त्रीलाई एनआरएनए मागबारे ध्यानाकर्षण गराएका थिए । एनआरएनए युके अध्यक्ष प्रेम गाहा मगरले ज्ञापन प्रस्तुत गर्दै माग पुरा गर्न माग गरे ।
एनआरएनए नेताहरुले प्रधानमन्त्रीलाई दुई मुलुकको समस्याको रुपमा रहेको ब्रिटिस गोर्खाहरुको समस्यालाई सम्बोधन गर्न बेलायत सरकालाई पहल गर्न आग्रह गरेका थिए । सो अवसरमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहित कोप-२६ सम्मेलनका लागि त्यसतर्फ लागेको नेपाली डेलिगेसन टोली, लन्डन दूतावासका प्रतिनिधि पनि सहभागी थिए ।
बेलायती सांसदहरुसँग भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको छ ।
यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उनीहरुबीच नेपाल-बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताए ।
द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिएका थिए । उनीहरुले बेलायतको संसदमा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन् ।
प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तरुरूपमा प्राप्त सहयोगको सराहना गरेको सचिव पौड्यालले जनाए ।
यही कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा आएका प्रधानमन्त्री आज दिनभर उच्च भेटवार्तामा व्यस्त रहे ।
नेपाल-बेलायत समाजका पदाधिकारीको भेट
देउवाले आज नेपाल-बेलायत समाजका पदाधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।
लन्डनस्थित नेपाली राजदूतावासमा आज भएको भेटमा समाजले लामो समयदेखि द्विपक्षीय सम्बन्ध प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र त्यसलाई अझ प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष एन्ड्रयु स्पार्क नेतृत्वको टोलीले नयाँ पुस्ताका बेलायतीलाई नेपाल भ्रमणमा अभिप्रेरित गराउन र नेपालप्रति सद्भाव बढाउन केही नयाँ ढङ्गले काम गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले बताए ।
प्रधानमन्त्री देउवाले समाजका गतिविधिबारे जानकारी लिँदै नेपालको गौरव र गरिमा बढाउन समाजलाई सक्रियातापूर्वक लाग्न आग्रह गर्नुभयो । भेटमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलगायत भ्रमणदलका सदस्य सहभागी थिए । रासस

Leave a Reply