जनकपुरधाम । प्रदेश २ सरकारले वीरगञ्जमा प्राविधिक र सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्री परिषद्को बैठकले विश्वविद्यालयसम्बन्धी दुवै अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । अध्यादेश जारी भएलगत्तै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्नेछ ।
प्रदेशसभा संचालनमा नरहेकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सरकार अध्यादेश सिफारिस गरेको हो । कृषि तथा प्राविधिकसम्बन्धी स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकाले अध्यादेश सिफारिस गरिएको छ ।
यस्तै ‘ग्रिन सिटी, क्लिन सिटी’ अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगञ्जमा सरसफाई, विजुली वत्ती तथा वृक्षारोपण कार्य संचालन गर्ने निर्णय समेत गरिएको सरकारका प्रवक्ता साहले जानकारी दिए ।
मन्त्रिपरिषदले प्रदेश सरकारद्वारा संचालित विकास निर्माणको कार्यलाई प्राविधिकसहितको उच्च स्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिलासुस्ती एवं गुणस्तरहीन काम गरेको पाइएमा ठेक्केदार कम्पनीलाई बैंक ग्यारेन्टी जफतदेखि कालो सूचिमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

Leave a Reply