काठमाडौं । टि-२० विश्वकप अन्तरगतको म्याचमा हिजो पाकिस्तानले भारतलाई लज्जास्पद पराजय चखायो । बलियो मानिएको भारतलाई १० विकेटले हराएसँगै पाकिस्तानमा खुशीयाली छाउनु स्वभाविक थियो । तर, छिमेकी देश बंगलादेश र भारतकै कतिपय स्थानमा समेत पाकिस्तानको जितमा खुशी मनाइएको खबरले भने धेरैलाई आश्चर्य लाग्न सक्छ ।
भारत र पाकिस्तानबीचको क्रिकेट प्रतिस्पर्धालाई यी दुई देशमा मात्र नभएर विश्वभर नै चासोका साथ हेरिन्छ । अझ दक्षिण एसियाली क्षेत्रमा त भारत-पाकिस्तान म्याचको रौनक नै बेग्लै हुन्छ । नेपाललगायत दक्षिण एसियाका देशहरुमा भारतविरोधि भावना प्रबल छ । त्यसैले यी देशका धेरै मानिसहरु क्रिकेटमा भारतलाई समर्थन गर्दैनन् । आपसी दुश्मनका रुपमा चिनिएका भारत र पाकिस्तानबीचको म्याच हुँदा पाकिस्तानप्रति धेरैको सहानुभूति र समर्थन पाइन्छ । यस्तो समर्थन सबैभन्दा बढी बंगलादेशमा प्रकट हुने गरेको छ ।
पाकिस्तानले भारतमाथि शानदार जित हासिल गरेपछि बंगलादेशस्थित पाकिस्तानी उच्चआयोगले ट्विटरमा एउटा भिडिओ पोष्ट गर्यो । उक्त भिडिओमा बंगलादेशीहरुले पाकिस्तानको जितमा खुसियाली मनाइरहेको देखिन्छ । उनीहरुले ‘पाकिस्तान जिन्दावाद’ को नारासमेत लगाएका छन् । भिडिओ पोष्ट गर्दा उच्चायोगले पाकिस्तानको जितमा खुशी मनाएकोमा बंगलादेशीहरुलाई धन्यवाद दिएको छ ।
Thank you Bangladesh for celebrating Pakistan’s victory in T-20. pic.twitter.com/EofriKo0jX
— Pakistan High Commission Bangladesh (@PakinBangladesh) October 25, 2021
बंगलादेशीले भारतको विरोध र पाकिस्तानको समर्थन गर्नुका पछाडि मुख्य दुई फ्याक्टरले काम गरेका छन्ः इतिहास र धर्म ।
भारत, पाकिस्तान र बंगलादेश विगतमा एउटै देश थियो । अंग्रेजहरुले भारतीय उपनिवेश छाडेसँगै भारत र पाकिस्तान सन् १९४७ मा छुट्टिए । भारतमा भएको स्वतन्त्रता संग्रामपछि अंग्रेजले नै दुई देश छुट्याइदिएर हिँडेका थिए । मुस्लिम बहुल क्षेत्र पाकिस्तानमा र हिन्दू बहुल क्षेत्र भारतमा रहे ।
तर, पाकिस्तान पनि सग्लो देशका रुपमा कायम रहन सकेन । विभिन्न राजनीतिक र अन्य विवादपछि पूर्वी पाकिस्तानले पश्चिम पाकिस्तानसँग स्वतन्त्रताको लडाईं लड्यो र सन् १९७४ मा बंगलादेश जन्मियो । पश्चिम पाकिस्तान हालको पाकिस्तान हो ।
भारतबाट पाकिस्तान अलग्गिएपछि यी देशको सम्वन्ध तिक्ततापूर्ण रहिआएको छ । उनीहरु एक-अर्कालाई एक नम्बरको दुश्मन मान्ने गर्छन् । भारत र पाकिस्तानको दुश्मनीको मुख्य स्रोत धर्म हो । भारत हिन्दूबहुल र पाकिस्तान मुस्लिम बहुल राष्ट्र भएकाले उनीहरु एक-अर्कालाई देखिसहँदैनन् ।
तर, भारत-पाकिस्तानको जस्तो तिक्ततापूर्ण सम्वन्ध बंगलादेश-पाकिस्तानबीच छैन । पाकिस्तानसँग लडाईं लडेर अलग देश बनेको भए पनि एउटै धर्मका कारण पाकिस्तानी र बंगालादेशीहरु भावनात्मकरुपमा नजिक छन् । बंगलादेश पनि मुस्लिम बहुल राष्ट्र हो । त्यही भएर पाकिस्तान र भारतको म्याच हुँदा बंगलादेशीको समर्थन पाकिस्तानपट्टि हुन्छ ।
सन् २०१६ को टि-२० विश्वकपको सेमिफाइनलमा भारत वेस्टइन्डिजसँग पराजित भएपछि बंगलादेशी टिमका विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिमले फेसबुकमै खुशी व्यक्त गरेका थिए ।
उनले लेखेका थिए, ‘यो हो नि खुशी । अब म राम्ररी निदाउन सक्छु ।’
तीव्र विवाद भएपछि उनले आफू वेस्ट इन्डिजको ठूलो फ्यान भएको स्पष्टीकरण दिँदै आफ्नो स्टाटस हटाएका थिए ।
यता, हिन्दूबहुल भारतमा मुस्लिमको उपस्थिति उल्लेख्य (१५.५ प्रतिशत) छ । भारतीय मुस्लिमहरु पाकिस्तानप्रति सदासयता राख्छन् । भारतीय संस्थापनले देशको मुस्लिम समुदायलाई निरन्तर थिचोमिचो गर्नुको मुख्य कारण पनि यही नै हो ।
हिन्दु कट्टरपन्थि भारतीय जनता पार्टी सत्तामा आएपछि भारतीय मुस्लिममाथिको ज्यादति झनै बढेको छ । पछिल्लो दृष्टान्तका रुपमा हालै बलिउडका मुस्लिम नायक शाहरुख खानका छोरा आर्यन खानलाई मामुली केसमा गरिएको अतिरञ्जित कानूनी कारवाहीलाई लिन सकिन्छ । मुस्लिम सेलिब्रिटीहरुप्रति भारतमै बढ्दोरुपमा घृणा फैलाउने प्रयास भइरहेको छ । पाकिस्तानीहरु भने उनीहरुप्रति सहानुभूति राख्ने गर्छन् । हालै एक पाकिस्तानी टिभी प्रस्तोताले शाहरुखलाई भारत छोडेर पाकिस्तान आउन आग्रह गर्दै ट्विट गरेका थिए ।
भारतीय संस्थापनले आफ्नो देशका मुस्लिम समुदायको राष्ट्रियताप्रतिको प्रतिवद्धतामा प्रश्न गरिरहन्छ । राज्य सत्ताले मात्र होइन, जनस्तरबाट नै उनीहरुमाथि ‘देशविरोधि’ को आरोप लाग्ने गरेको छ । अनि, जब भारत र पाकिस्तानबीच क्रिकेट म्याच हुन्छ, त्यसबेला भारतका हिन्दूहरुले आफ्नै देशका मुस्लिम नागरिकहरुलाई शंकाको दृष्टिले हेर्ने गर्छन् । भारतले पछिल्लो समय पाकिस्तानसँगको क्रिकेट म्याच पन्छाउन खोज्नुको एउटा कारण यो पनि हो । इन्डियन प्रिमियर लिग (आइपीएल) मा समेत भारतले पाकिस्तानी खेलाडीहरुलाई रोक लगाएको छ ।
आफ्नै पितापुर्खाहरुले बनाएको देश पाकिस्तानप्रति भारतीय मुस्लिमहरुको केही न केही सहानुभूति रहेको हुनसक्छ नै । त्यो बेलाबेलामा प्रकटरुपमा पनि देखिने गरेको छ । पाकिस्तानले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु जित्दा भारतका मुस्लिमहरुले बधाइ साटासाट गर्ने गरेको पाइन्छ । कहिलेकाही भारतीय मुस्लिमहरुले पटका पड्काएर खुशीयाली मनाएका समाचारहरु पनि आउने गर्छन् । हिजो भारतलाई पाकिस्तानले हराएपछि भारतभित्रै खुशीयाली मनाइएको भनेर सामाजिक सञ्जालमा सरगर्मी भएको थियो । विभिन्न स्थानमा मुस्लिमहरुले आतिशवाजी गरेको भन्दै फेसबुक र ट्विटरमा बग्रेल्ति भिडियोहरु पोष्ट भएका छन् ।
पूर्वक्रिकेटर विरेन्द्र सेहवागले पाकिस्तानको जितमा भारतका केही भागमा पटका पड्काइएको भन्दै ट्विट गरेका थिए । उक्त ट्विटमा विभाजित प्रतिक्रियाहरु आए । मुस्लिमहरुले सहवागको विरोध गरेका छन् भने अन्य भारतीयले उनको समर्थन गरेका छन् ।
Firecrackers are banned during Diwali but yesterday in parts of India there were firecrackers to celebrate Pakistan ‘s victory. Achha they must have been celebrating victory of cricket. Toh , what’s the harm in fireworks on Diwali. Hypocrisy kyun ,Saara gyaan tab hi yaad aata hai
— Virender Sehwag (@virendersehwag) October 25, 2021
सहवागकै जोडीका रुपमा खेल्ने अर्का पूर्वक्रिकेटर (हाल भाजपाका सांसद) गौतम गम्भीरले पनि त्यस्तै ट्विट गरेका थिए ।
उनले लेखेका छन्, ‘पाकिस्तानको जितमा जो अतिशवाजी गरिरहेका छन् उनीहरु भारतीय हुनै सक्दैनन् ।’
हिजो पाकिस्तानसँगको हारपछि भारतीय समर्थकहरुले एक खेलाडीलाई आक्रमणको निशाना बनाए, मोहम्मद सामी । उनले हिजोको म्याचमा खराब प्रदर्शन त गरेका थिए नै । तर, उनीमाथि हमला हुनुको मुख्य कारण चाहिँ उनी मुस्लिम हुनु नै थियो । सामाजिक सञ्जालमा भारतीयहरुले उनीमाथि ‘धोकेवाज’, ‘गद्दार’ जस्ता आरोप लगाउँदै भारत छोडेर पाकिस्तान जान चेतावनीसमेत दिएका छन् । ट्विटरमा सामी ह्यासट्याग ट्रेन्डिङमा समेत आएका थियो ।
सामीमाथि आक्रमण तेज भएपछि एकाध पूर्वक्रिकेटरले उनको बचाउमा लेखेका छन् । सचिन तेन्दुलकरले एउटै म्याचको प्रदर्शनलाई लिएर सामीको प्रतिवद्धतामाथि प्रश्न उठाउनु गलत भएको बताएका छन् । इरफान पठानले आफू सहभागी टिम पनि विगतमा पाकिस्तानसँग हारेको तर आफूलाई ‘पाकिस्तान जान’ नभनिएको बताएका छन् ।
यता पाकिस्तानी गृहमन्त्रीले भारतविरुद्धको जितलाई विश्वभरका मुस्लिमहरुको जित भन्दै ट्विट गरेका थिए ।

Leave a Reply