सम्मानित नेताको दबाबमा यौन दुराचारीलाई निगम अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल वायूसेवा निगमका नवनियुक्त अध्यक्ष युवराज अधिकारी विगतमा निगमभित्रै यौन दुराचारमा मुछिएको पाइएको छ । निगमका महिला कर्मचारीहरुले उनीबाट यौनहिंसा भोगेको भन्दै महिला आयोगमा उजुरी दिएका थिए ।

सोमबारको मन्त्रीपरिषद बैठकले अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय लिएको हो । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको दवावमा अधिकारीलाई कार्यकारी अध्यक्ष बनाइएको स्रोतले बतायो । अधिकारले विगतमा निगममै विभिन्न पदमा रहेर काम गरेका थिए । अर्थ विभागको निर्देशकका रुपमा काम गर्दा मातहतका कर्मचारीलाई यौन हिंसा गरेको उनीमाथि आरोप छ ।

२०७४ सालमा सो विभागका कर्मचारीले महिला आयोगमा उजुरी दिएका थिए । अधिकारीले कार्यालयमै विभिन्न प्रकारले मानसिक यातना दिएको भन्दै पक्राउ गरेर कारवाही गर्न उजुरीमा माग गरिएको थियो ।

उजुरीमा अधिकारीले विभिन्न ओहदामा रहँदा महिला कर्मचारीलाई कार्यालय समयमा आफ्नो कार्यकक्षमा एकान्त कोठामा बोलाउने, आहा कति राम्री भएकी भन्ने, शरीरको संवेदनशील अंगहरुमा गलत नियतले हेर्ने र छुने प्रयास गर्ने, यौनिक हिंसाजन्य कुराहरु गर्ने, तथा यौनिक क्रियाकलाप गर्न खोज्ने गरेको आरोप लगाइएको छ ।

उजुरीमा भनिएको छ, ‘विदेश घुम्न जाउँ, मसँग रमाइलो गरौं, मोज गर्नुपर्छ, छोराछोरी तथा श्रीमान नलिइकन हिँड, तिमी बच्चा जन्माइरहने होला, यसले गर्दा तिमी पछाडी पर्यौ भन्दै मानसिक यातना दिएको र हाम्रो आत्मसम्मानमा गम्भीर चोट पुगेको साथै कार्यस्थलमा सहज, सुरक्षित, स्वस्थ, सम्मानपूर्वक तथा मर्यादित वातावरणमा काम गर्न पाउने अधिकारको गम्भीर उल्लंघन गरेकाले निज युवराज अधिकारीलाई तुरुन्त पक्राउ गरी कारवाही गरिपाउँ ।’

यस विषयलाई लिएर महिला कर्मचारीहरुले निगमका तत्कालीन महाप्रबन्ध सुगतरत्न कंशाकार समक्षसमेत निवेदन दिएका थिए । अधिकारीले आफ्ना हर्कतहरुका लागि क्षमायाचना गर्दै आइन्दा यस्तो काम नगर्ने भनेर दुई पक्षबीच मेलमिलाप गराइएको थियो ।

Comments

One response to “सम्मानित नेताको दबाबमा यौन दुराचारीलाई निगम अध्यक्षको जिम्मेवारी”

  1. Manoj thapa Avatar
    Manoj thapa

    Yes lai samatera jail toknu parchha ra nigam bata barkhasta gariyos

Leave a Reply

Your email address will not be published. Required fields are marked *