‘न्यायिक अराजकताको स्रोत परमादेश हो, सत्ता गठबन्धन र श्रीमान ५ बीचको सेटिङ खुल्दैछ’

काठमाडौं । पूर्व महान्यायाधिवक्ता रमेश बडालले न्यायपालिकामा अहिले देखिएको समस्या र अराजकता असार २८ को परमादेशको विकृत रुप भएको भन्दै यसमा सत्ता गठबन्धन, सभामुख र संवैधानिक इजलासका ५ न्यायाधीशले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

सत्ता गठबन्धन निकट कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको वहिर्गमनको लागि लबिङ गरिरहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कानूनी सल्लाहकार बडालले एक व्यक्तिको वहिर्गमनले परमादेशका विकृति अन्त्य नहुने बताए ।

बडालले भने, ‘परमादेशका बाइप्रडक्टहरु अहिले देखिदैछन् । सत्तामा न्यायपालिकाको प्रतिनिधित्वको कुरामात्र होइन, पदकमा न्याय बेचेर फैसला गर्ने श्रीमानहरुको पनि कुरा छ । अहिले जे भइरहेको छ एउटा व्यक्तिको वहिर्गमनले समाधान हुँदैन । सत्ता गठबन्धन र त्यसमा आबद्ध सभामुख तथा असार २८ को फैसला गर्ने संवैधानिक इजलासका पाँचैजनाले पद त्याग गर्नुपर्छ ।’

सरकारले नै कम्फरटेबल इजलास नभए मुद्दा सार्न थालेको भन्दै बडालले व्यक्तिगत रुपमा प्रधानन्यायाधीशको मात्र राजीनामा वा महाअभियोगको कुरामा आफूहरुको सहमति नरहेको बताए । परमादेश जारी गर्ने बेलामा क-कसले को कोसँग साँठगाँठ र सेटिङ गरेका थिए भन्ने उनीहरुले नै खुलाउन थालेको भन्दै बडालले सत्ता गठबन्धन र पाँच न्यायाधीशबीचको लेनदेनबारे प्रष्ट हुँदै जाने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *