कडा प्रतिस्पर्धाका लागि तयार छौं: कप्तान अर्पण

काठमाडौं । नेपाली राष्ट्रिय यु–२३ टोलीका कप्तान अर्पण कार्कीले एएफसी यु–२३ एसियन कपको छनोटका लागि तयार भएको बताएका छन् ।

छनोटअन्तर्गत सोमबार हुने इरानविरुद्धको खेलअघिको पत्रकार सम्मलेनमा कप्तान तथा गोलकिपर अर्पणले तयारी राम्रो रहेको र कडा प्रतिस्पर्धाका लागि नेपाली टोली तयार रहेको बताए ।

‘हामीले राम्रो तयारी गरेका छौं । एक टोलीको रूपमा हामीले अभ्यास गरेका छौं,’ उनले भने, ‘इन्डोनेसियाविरुद्धको मैत्रीपूर्ण खेलले पनि हामीलाई सुधार गरिनु पर्ने पक्ष देखाइदिएको थियो । हामी उत्कृष्ट प्रदर्शन गर्न र कडा प्रतिस्पर्धाका लागि तयार छौं ।’

नेपालले शुक्रबार भएको इन्डोनेसियाविरुद्धको खेलमा २–० को पराजय भोगेको थियो ।

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्दै छ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा समूह को अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ ।

छनोटका ११ समूहको शीर्ष टोली सहित उत्कृष्ट चार टोलीले एएफसी यु–२३ एसियन कप खेल्ने मौका पाउनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुँदैछ ।

नेपाली टोलीमा अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दीप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, नितिन थापा, सुरज जेउ ठकुरी, आयुस घलान, शेशेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहरी, ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ, एरिक विष्ट छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *