ताइवानको रक्षा अमेरिका गर्छ : बाइडेन, चीनद्वारा असन्तुष्टि व्यक्त

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकले ताइवानको रक्षा गर्ने बताएका छन् । चीनले उक्त प्रायद्धीपमा दाबी गरिरहँदा शुक्रबार बाइडेनको यस्तो अभिव्यक्ति आएको हो ।

ह्वाइट हाउसले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन आएको समेत स्पष्ट पारेको छ । के अमेरिका ताइवानको प्रतिरक्षामा उभिनेछ भनेर सोधिएको प्रश्नमा बाइडनले भने, ‘अवश्य, हामी यस कुरामा प्रतिबद्धता जनाउँछौं ।’

पछिल्लो महीना चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई आफ्नो मुलुकले शान्तिपूर्ण रुपमा एकीकरण गर्ने बताएका थिए भने चीनले सैनिक उपस्थितीलाई व्यापक तुल्याएको थियो । गत अगस्टमा बाइडेन प्रशासनका एक अधिकारीले ताइवानलाई हेर्ने अमेरिकी नीतिमा कुनै परिवर्तन नआएको बताएका थिए । साथै, कुनै पनि मुलुकले त्यहाँ आक्रमण गरे अमेरिकाले प्रतिरक्षा गर्ने बताएका थिए ।

बाल्टिमोरको टाउन हलमा बाइडेनले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट पारेको ह्वाइट हाउस प्रवक्ताले बताएका छन् । ‘हामी आत्मरक्षा गर्ने ताइवानको कार्यमा समर्थन जनाउँछौं’ उनले भने, ‘हामी यथास्थितीलाई परिवर्तन गर्ने कार्यको विरोध गर्छौं ।’

तर, बाइडेनको अभिव्यक्तिप्रति चीनले असन्तुष्टि जनाएको छ । आफ्ना मूलभूत मान्यतामा कुनै सम्झौता नहुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । ताइवानको स्वतन्त्रतालाई लिएर कुनै गलत सन्देश प्रवाह नगर्न समेत प्रवक्ता वाङ वेनविनले बताए ।

ताइवानको राष्ट्रपति कार्यालयले कुनै दबाबसामु आफूहरुको नीतिमा कुनै परिवर्तन नआउने बताएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता जेभियर चेङले ताइवानले आफ्नो रक्षा आफै गर्ने बताए । वासिङटनको सैन्य क्षमतालाई लिएर मानिसहरु चिन्तित हुनुपर्ने कारण नरहेको बताउँदै बाइडेनले विश्वकै इतिहासमा चीन र रुसलाई अमेरिकी सेना सबैभन्दा बलियो रहेको थाहा भएको समेत बताएका छन् ।

‘म चीनसँग कुनैपनि किसिमको शीतयुद्ध चाहँदिन । म चीनले अमेरिका पछि हट्दैन भन्ने कुरा बुझ्नुपर्छ भन्ने मान्यता राख्छु । हामी हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन गर्दैनौं’ उनले भने । चीन र ताइवानबीच पछिल्लो ४० वर्षयताकै चिसो सैन्य सम्बन्ध रहेको छ । ताइवानले चाहिँ आफू स्वतन्त्र राष्ट्र रहेको र आफ्नो स्वतन्त्रता तथा लोकतन्त्रको प्रतीरक्षा गर्ने बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *