खानेपानी हाकिमलाई दुर्व्यवहार गर्ने कार्यकर्ता छाड्न दबाब दिँदै प्रहरीमा सीके राउतका कार्यकर्ताको धर्ना

जनकपुरधाम । भ्रष्टाचार गरेको भन्दै खानेपानी कार्यालय प्रमुखलाई दुर्व्यवहार गर्ने कार्यकर्ता पक्राउ परेपछि उनीहरूलाई छुटाउन जनमत पार्टीका नेता/कार्यकर्ता प्रहरी कार्यालय परिसरमा धर्ना बसेका छन् ।

जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी तथा ढल निकास कार्यालयका हाकिम राजेश्वर कुशवाहालाई ढल योजनामा भ्रष्टाचार गरेको भन्दै सीके राउतका कार्यकर्ताले अर्धनग्न बनाइ हिलो दलेर दुर्व्यवहार गरेका थिए । सोक्रममा १० कार्यकर्ता पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिइएको हो ।

तर, जनमत पार्टीले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई नछाडे धर्ना जारी राख्ने जनाएको छ । केन्द्रीय सचिव अनिता साहले कार्यकर्तालाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिइन् ।

उनले भ्रष्टाचारी प्रमुख कुशवाहालाई दुर्व्यवहार होइन्, जनकारवाही गरेको जिकिर गरिन् । उनले भनिन्, ‘पहिले ज्ञापनपत्र बुझाएका थियौं, तर सुध्रेनन् भ्रष्टाचारी जुनसुकैलाई हामी जनकारवाही गर्छौं ।’

प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने १० जनालाई पक्राउ गरिएको भन्दै धनुषा प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले उनीहरूलाई कानूनबमोजिम कारबाही अगाडि बढाइएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *