कर्णालीको बाढी गाउँ पस्यो, स्थानीयलाई विद्यालयमा राखिँदै

कैलाली । कर्णाली नदीमा आएको बाढी गाउँ पसेको छ । टीकापुर नगरपालिका -५ शाहीपुरस्थित निर्माणाधीन तटबन्ध भत्किएर नदी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बाढीबाट सयौँ परिवार विस्थापित हुन थालेको बताएका छन् ।

‘भरखरै नदी गाउँ पसेको हो’ उनले भने ‘अहिले स्थानीय सुरक्षित स्थल सम्म जान थालेका छन् ।’ नदीमा बाढी आएकाे कारण टीकापुरको दक्षिणका तल्लो शाहीपुर, सिम्रनी, सत्ती, बनगाँऊ, बटनपुर लगायतका बस्ती डुबानमा परेको छ । उनीहरूलाई राष्ट्रिय मावि बसन्तामा राख्ने काम भइरहेको छ ।

अहिले पनि नदीमा बहाव बढिरहेको प्रहरीले जनाएको छ । अहिले पानीको सतह १२.६० मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह मानिन्छ ।

कर्णालीको पानी गाउँ पस्दा टीकापुरमा मात्रै होइन जानकी गाउँपालिका पनि प्रभावित भएको छ । जानकी गाउँपालिका-९ पूर्वी खैरी फाँटमा ५० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *