रुपन्देही । दसैँ मनाउन सर्वसाधारण थातथलोतिर लागेपछि रुपन्देहीका मुख्य बजार सुनसान भएका छन् ।
विभिन्न काम विशेषले सहरमा बसेकाहरू दसैँ मान्न गाउँघर गएपछि बजार क्षेत्र तथा सडकहरू सुनसान बनेका हुन् । अब केही दिन सहरबजार सुनसान हुनेछन् । बुटवल बजारमा रहेका अधिकांश व्यापारिक पसलहरू पनि बन्द भएका छन् ।
फूलपातीदेखि गाउँघरतिर दसैँको चहलपहल धेरै हुने र कोत तथा मठमन्दिरहरूमा बली दिने र दसैँको तयारी गर्ने भएपछि बाहिरबाट आई पेशा व्यवसाय गरेकाहरू फूलपातीलगत्तै गाउँघर गएपछि बजार क्षेत्र सुनसान बनेको हो । बुटवलमा व्यापार गर्ने धेरैजसो व्यापारीहरू पहाडी जिल्लाहरू गुल्मी, पाल्पा, अर्घाखाँची, वाग्लुङ पर्वतजस्ता जिल्लाहरूका रहेकोले उनीहरू पनि आ-आफ्ना घरतर्फ लागेपछि बुटवलमा स्थानीय मात्र रहेका छन् ।
बुटवलको मुख्य राजमार्गमा सवारी साधनको संख्या अत्यन्त न्यून भएको छ । अधिकांश यात्रुहरू फुलपातीदेखि नै गाउंघर फर्किएका छन् । एक हप्तासम्म यात्रुहरूलाई टिकट वितरण गर्न र सवारीसाधनको व्यवस्थापन गर्न व्यस्त बनेका यातायात व्यवसायी तथा बसपार्कका कर्मचारीहरू पनि फुर्सदिला बन्दै दसैँ मनाउने तयारीमा जुटेका छन् । बसपार्क तथा सडकमा सार्वजनिक सवारीसाधनको संख्या नगण्य देखिएको छ ।
यातायात व्यवसायीहरूले दसैँको तिनदिन कुनैपनि क्यू निर्धारण नगर्ने भएकोले सवारी चालकहरू पनि फुर्सदिला बन्ने गर्दछन् । सबैले दसैँ मानेजस्तै यातायात व्यवसायी तथा सवारी साधनका मजदुरहरूले पनि दसैँ मनाउने भएपछि आफ्नो गन्तव्य स्थानमा मात्र सवारी साधन संचालन गरेपछि यी तिन दिन यातायात क्षेत्र केही अव्यवस्थित हुने गर्दछ ।
अस्पतालमा बिरामीको चाप घट्यो
दसैँको बेला सबैक्षेत्र सुनसान भएसँगै अस्पतालहरूमा पनि बिरामीहरूको चाप घटेको छ । अन्य समयमा एउटै बेडमा तीनजनासम्म बिरामी देखिने लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा अहिले विरामीहरूको चाप घटेको छ । यसक्षेत्रकै सबैभन्दा ठूलो लुम्बिनी प्रादेशिक अस्पताल तथा अन्य अस्पतालहरूमा पनि दसैँको विदा भएपछि बिरामीहरूको चाप घटेको हो ।
दसैँमा अधिकांश स्वास्थ्यकर्मी बिदा बस्ने भएकोले घरमै बसेर औषधी सेवन गर्नुपर्ने अवस्थाका विरामीहरूलाई घर पठाएर जटिल अवस्थाका विरामीलाई मात्र अस्पतालमा भर्ना गरिएका छन् । बुटवलका अन्य निजी अस्पताल तथा निजी क्लिनिकहरू पनि दसैँ नजिकिएसंगै सुनसान बन्न थालेका थिए ।
अस्पतालका आकस्मिक कक्षमा काम चलाउने हिसाबले मात्रै स्वास्थ्यकर्मीहरूको भरमा अस्पताल खुल्ला गरिएका छन् । सधै विरामीहरूको भीड रहने अस्पताल लाईन बुधवारदेखि नै सुनसान देखिने गरेको छ । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले भने ३ सय ६५ दिन नै ओपिडी सेवा खुल्ला गर्ने निर्णय अनुरुप दसैँमा समेत ओपिडी सेवा बन्द नहुने जनाएको छ ।
हराउँदै पिङ
दसैँको पहिचान बनेका खरले बाटेको लुठे पिङ, घुमाउने राउचुई वा काठे पिङहरू पछिल्ला वर्षहरूमा देख्न छोडिएका छन् ।
खरलाई बाटेर बनाईने लुठे पिङ बजार क्षेत्रमा खरको अभाव हुने भएपछि प्लाष्टिकको डोरीबाट बनाइने यसवर्ष भने खासै देख्न पाइएन । अघिल्लो वर्ष पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, औद्योगिक सुरक्षा बेस, देवीनगर, मुर्गिया, योगिकुटीलगायतका स्थानहरूमा लिंगे पिङ राखिएपनि यसवर्ष भने लिंगे पिङ कमैमात्र भेटिएका छन् ।
पिङ खेल्दा शरीरलाई निरोगी बनाउने व्यायामको काम गर्ने हुँदा यसको संस्कृतिलाई जोगाउनुपर्ने संस्कृतिविद्हरू बताउंछन् । विगतमा काठे पिङको महत्व निकै बढी रहेकोले नेपाल सरकारले नेपाली रुपैयाँ सिक्कामा समेत काठे पिङको चित्र राखी देश विदेशमा चर्चा गर्दै आएको थियो ।
विगतमा मनोरञ्जनका साधनको अभाव रहँदा यस्ता पिङहरूको बेग्लै महत्व रहेको थियो । तर अहिले भने मानिसमा बढ्दो व्यस्तता, रोजगारीको लागि युवाहरूको विदेश पलायनका कारण दसैसंग जोडिएको पिङको मौलिक संस्कृति पनि हराउँदै गएको छ । गाउंघर सहर बजारमा तिजदेखि तिहारसम्म प्रत्येक टोलटोलमा राखिने पिङको संस्कृति हराउँदै गएको हो । विगतका समयमा पाल्पाका सवैजसो स्थानमा काठे पिङ बनाएर खेल्ने प्रचालन रहेपनि हाल भने जिल्लाको एक दुई स्थानमा मात्रै देख्न पाइन्छ । भगवान श्रीकृष्ण लाई गोपिनीहरूले झुला झुलाएर आनन्द दिने परम्परा हुँदै आम मानिसमा विकास हुँदै गएको पिङको संस्कृति आधुनिक समाजको विकाससँगै हराउन थालेको छ । पिङको इतिहास भगवान श्रीकृष्ण, राम र महाभारत झुलाको रुपमा सुरूवात भई आम मानिसमा आएको हो ।
उत्सव तथा चाडबाडका बेला मनोरन्जनका लागि गाउँघरका टोल-टोलमा रोटे र लिङ्गे पिङ बनाउने चलन थियो । तर पछिल्लो समय पिङ खेल्ने चलन कम हुँदै गएको छ । असारमा हिलोमा पस्नु असोजबेला भुईं छोड्नु भन्ने नेपाली भनाई अनुसार दसैँपर्वमा पिङ खेल्ने प्रचलन थियो । तर, समयसंगै यस्ता मैलिक परम्परा र संस्कृति हराउंदै गएका छन् । पहाडी क्षेत्रमा काठबाट बनाईएको काठेपिङ र पिपल, बर, स्वामी, काब्रोजस्ता रुखहरूमा बाँधिने लुठे पिङ प्रशस्त पाइने भएपनि तराई क्षेत्रमा भने बांसको लिंगा गाडेर लुठे पिङ जोड्ने गरिन्छ । पछिल्लो समयमा क्रिकेट, फुटबल, स्नुकर जस्ता विभिन्न प्रकारका खेलहरूको विकास हुंदै गएपछि सहर बजार र तराई क्षेत्रमा पिङ लोप हुने अवस्थामा पुगेको छ ।
फलफूलको व्यापार ह्वात्तै बढ्यो
बुटवलमा पछिल्लो तीनचार दिनयता फलफूलको व्यापार ह्वात्तै बढेको छ । दसैँ मनाउन गाउँ जानेहरूको संख्या बढ्दै गएकाले फलफूलको व्यापारमा पनि बृद्धि भएको व्यापारीहरू बताउँछन् । स्याउ, केरा, अनार, सुन्तला, अम्बा, नरिवल लगायतका फलफूलको व्यापार पछिल्लो एकसाता यता बढेको खुद्रा व्यापारीहरू बताउँछन् । गतवर्ष कोरोना महामारीका कारण चाडपर्वमा समेत सर्वसाधारण जुट्न नसक्दा सुस्ताएको फलफूलको व्यापार यसवर्ष भने राम्रो भएको व्यापारीहरूको भनाइ छ । बुटवलमा ८ बर्षदेखि फलफुल विक्री गर्दै आएका नेत्र आचार्यले यसवर्ष राम्रै व्यापार भएको बताए ।
देशका विभिन्न स्थानमा जानेहरू बुटवल हुँदै जाने र बुटवलमै फलफुल थोक बजार केन्द्र रहेको कारण यहां फलफुलको विक्री वितरण धेरै हुने गरेको छ । विगतका वर्षहरूमा दसैँ पछि मात्रै पहाडी क्षेत्रका सुन्तलाको विक्री सुरू हुनेमा यसवर्ष भारतीय बजारबाट ल्याइएका सुन्तलाले पनि आफ्नो बजार ओगटिसकेको छ । बुटवलमा हरेक बर्ष दसैँको समयमा मात्र ५ करोडभन्दा बढीको फलफूलको खुद्रा कारोबार हुने गरेको अनुमान छ ।
नागरिकको सुरक्षासँगै वित्छ दसैँ
वर्षैभरी देश र जनताको सेवा र सुरक्षामा खटिने सुरक्षाकर्मीले बडादसैँको अवसरमा पनि बिदा पाउँदैनन् । सर्वसाधारणले खुसीयालीपूर्वक चाडपर्व मनाइरहंदा सर्वसाधारणको सुरक्षाको लागि खटिने सुरक्षाकर्मीको दसैँ भने निराश बन्ने गर्छ । निधारमा रातो टीका र जमरा लगाएर आफन्तकहां हिंड्ने सर्वसाधारणलाई हेरेर सुरक्षाकर्मीहरू रमाइलो मानिरहेका हुन्छन् । दसैँ नजिकिदै गर्दा बुटवलका हरेक चोक र सडकहरूमा पहिलेभन्दा सुरक्षाकर्मीहरूको उपस्थिति बाक्लिएको छ । सर्वसाधारण चाडपर्व मनाउन व्यस्त भइरहंदा अपराधिक मनोवृत्तिका व्यक्तिहरूको सक्रियता बढ्नसक्ने भएकोले सुरक्षाकर्मीहरू चाडपर्वमा बढी चनाखो हुने गर्छन् ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख मुकुन्दराज आचार्यले सर्वसाधारणलाई निदाउन दिन सुरक्षाकर्मीहरू जागै बस्नुपर्ने भएकोले चाडपर्वमा अझै बढी सतर्क बन्नुपर्ने बताउँछन् ।
चाडपर्वलक्षित सुरक्षा योजना अगाडि सारी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । दसैँको समयमा सडकमा सर्वसाधारणको आवतजावत बढी हुने भएकोले सडकमा आवतजावत भइरहेका सवारी चेकजांच गर्ने र मास्कको प्रयोग गर्न लगाउने समेतको जिम्मेवारी सुरक्षाकर्मीले गर्दै आएका छन् । कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर निरन्तर खटिएका सुरक्षाकर्मी दसैँमा पनि घर जान नपाउँदा मन खिन्न हुने गरेको बताउँछन् । आफू कार्यरत कार्यालयभित्रै अग्रजबाट टीका लगाएर र आफूले मातहतका सुरक्षाकर्मीलाई टीका लगाइदिएर दसैँ मनाउने प्रहरी अधिकृतहरू बताउँछन् ।

Leave a Reply