सत्यमोहन जोशीसँग पुरस्कार ग्रहण गर्दै कमल थापाले भने : आफ्नो पछि कति भीड छ हेर्दिन ,निष्काम कर्म गर्छु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पूर्वप्रधानमन्त्री कीर्तिनिधी बिष्टका नाउँमा स्थापित एक लाख रुपैयाँ राशिको नइ कीर्तिनिधी पुरस्कारबाट शनिबार पुरस्कृत भएका छन् ।

कार्यक्रममा बोल्दै थापाले जीवनमा धेरै कठिन परिक्षाको घडी ,घात र प्रतिघात पार गरेको भन्दै आफ्नो पछाडि कति भीड छ भनेर कहिल्यै नहेरी निरन्तर सत्य र निष्ठाको बाटोमा अबिचलित भएर हिँडिरहेको बताएका छन् ।

नई प्रकाशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृतिबिद सत्यमोहन जोशीको हातबाट पुरस्कार ग्रहण गर्दै थापाले १०२ बर्षिय शताब्दी पुरुष डा. सत्यमोहन जोशीबाट पुरस्कार ग्रहण गर्न पाउँदा आफूलाई भाग्यशाली महशुस गरे।

राष्ट्रियताको पक्षमा लाग्नु आफ्नो जिम्मेवारी र कर्तब्य भएको भन्दै थापाले पुरस्कारले थप इमानदारिता र निष्ठापूर्वक देश र जनताको हितमा काम गर्न प्रेरणा दिएको बताए । आफूले धेरै कठिन परिक्षा ब्योहरेको चर्चा गर्दै थापाले भीड र तालीको लागि नभई सत्य र निष्ठाको निमित्त निष्काम कर्म गरिरहने स्पष्ट पारे।

आम मान्छेले चिनेको र बुझेको कमल थापाभन्दा आफू फरक भएको भन्दै उनले समय क्रममा त्यो स्पष्ट हुने समेत बताए । लोभ, मोह र स्वार्थबाट माथि उठेर काम गर्नु कठिन बिषय भएको तर आफू त्यो अभ्यासमा रहेको र सम्मानको बोझले थप थिचिएको उनको भनाई थियो ।

‘इमानदार र अटल भएर अड्न गाह्रो छ, तर म त्यो अभ्यासमा छु’ थापाले भने । पुरस्कारबापत प्राप्त १ लाख नगद आफुसङ्ग आबद्द रहेको सामाजिक सस्था लाई प्रदान गरि गरिब जेहन्दार विद्यार्थीलाई पढ्न उपलब्ध गराउने समेत उनले बताए ।

पूर्वप्रधानमन्त्री कीर्तीनिधि बिष्ट नेपाली राजनीतिको शिखर ब्यक्तित्व भएको चर्चा गर्दै थापाले निर्भिकतापूर्वक राष्ट्रबादी बिचार, सोच, अडान र स्वाभिमान राख्ने स्वर्गीय बिष्टको भाबनाको महत्त्व धेरै भएको र आगामी दिनमा थप चर्चा हुन जरुरी भएको समेत बताए । नइ प्रकाशनले नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अक्षुणता संरक्षण र सम्बर्द्धनका लागि अटल प्रतिबद्ध भएकोले थापालाई पुरस्कार प्रदान गरिएको नइ प्रकाशनका सदस्य सचिब नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *