कांग्रेस चुनाव जितेका सरकारी कर्मचारी र शिक्षकको पद रोक्का गर्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत क्षेत्रीय प्रतिनिधिमा चुनिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई तत्काल राजनीतिक कार्यमा संलग्न नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सिन्धुपाल्चोकका सुनिल बोहराले दायर गरेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश मोहम्मद जुनैद आजादको इजलासले सो आदेश जारी गरेको हो । रिटमा नेपाली कांग्रेस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत कांग्रेस वडा अधिवेशनमा निर्वाचित भएका शिक्षक, प्राध्यापक र सरकारी कर्मचारीसहित १९ व्यक्ति तथा निकायलाई विपक्षी बनाएर रिट दाय भएको थियो ।

उच्च अदालतले विपक्षीहरूलाई बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको छ । त्यस्तै आगामी कात्तिक ७ गते दुवै पक्षको छलफबाट अन्तरिम आदेशबारे टुंगो लगाइने आदेशसमेत गरिएको छ । ‘उक्त मितिसम्मको विपक्षीहरूलाई राजनीतिक कार्यहरूमा सामेल नगर्नू/नगराउनू भनी विपक्षीहरूको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ’, आदेशमा उल्लेख छ ।

यो आदेशसंगै कांग्रेसका सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा अधिवेशनबाट निर्वाचित भएका शिक्षक, प्राध्यापक तथा सरकारी कर्मचारीको पद रोक्का भएको छ । क्षेत्रीय प्रतिनिधिमा त्रि.वि. नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग कीर्तिपुरमा कार्यरत स्थायी उपप्रध्यापक प्रेमध्वज लामा तथा स्थायी शिक्षकहरू वेदविक्रम कार्की, रिताकुमारी शर्मा बोहरा, सुस्मा पराजुली, स्वस्थानी थापा बोहरा, मुना थापा, अम्बरबहादुर बोहरा, तुलसीराम श्रेष्ठ, रमेश बोहरालगायत निर्वाचित भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *