राष्ट्रियसभा : एमाले अवरोध कायमै, चार विधेयक छलफलका लागि पठाइयो

काठमाडौं । राष्ट्रियसभाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका बीच चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ ।

आजको बैठकले सरकारले पेस गरेको चारवटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । बैठकमा महालेखापरीक्षकको अन्ठाउन्नौँ वार्षिक प्रतिवेदन २०७८ पनि टेवल भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको बैठकमा निरन्तर बिरोध गरे पनि बैठकको नियमित कार्य र कार्यसूचीमा भएको काम राकिएको छैन । एमालेले कारबाही गरेका १४ जना सांसदहरुको निस्कासनको सूचना सभामुखले नटाँसेका कारण सभामुखको विरोधमा एमाले आन्दोलित छ । प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरुले नाराबाजी सहित वेल घेराउ गर्छन् भने राष्ट्रिय सभाको बैठकमा आफू बसेको स्थानमा उभिएर विरोध जनाउने गरेका छन् ।

आजको बैठकमा राष्ट्रियसभा सदस्य पार्वती रावलले सरकार गैरकानूनी रूपमा चलेको, प्रमुख प्रतिपक्षी दलसँग संवाद गर्न नचाहेको तथा सभामुखको व्यवहार गैरसंवैधानिक र दलीय स्वार्थ केन्द्रित भएका कारण एमालेको विरोध जारी रहने बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *