काठमाडौं । व्यवसायीले पोलभाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले केवल तथा इन्टरनेटको तार काट्न थालेको छ । यससँगै देशका विभिन्न स्थानमा इन्टरनेट र केवल सेवा प्रभावित बनेको व्यवसायीले बताएका छन् ।
प्राधिकरणले आफ्नो बिजुलीको पोल प्रयोग गरेबापतको भाडा एकतर्फीरुपमा उच्चदरले बढाएको थियो । व्यवसायीले यसको विरोध गर्दै आएका छन् । बढेको भाडा तिर्न नसकिने उनीहरुको भनाइ छ । प्राधिकरणले भने बढेको भाडा नतिरेको भन्दै आजबाट तार काट्न थालेको हो ।
आज विराटनगर, पोखरा, बुटवल, चितवनलगायतका स्थानमा प्राधिकरणले तार काटेपछि केवल सेवा अवरुद्ध बनेको छ । केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माका अनुसार कतै आंशिक र कतै पूर्णरुपमा केवल सेवा बन्द भएको छ ।
यस्तै बिराटनगर, चितवन र लुम्बिनीमा इन्टरनेटसेवा पूर्णरुपमा अवरुद्ध बनेको इन्टरनेट सेवा प्रदायक संस्थाहरुको संगठन इस्पानका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । विराटनगरमा दुहबीबाट जाने र भारतबाट आउने दुवै इन्टरनेट बन्द भएकाले पूर्णरुपमा सेवा बन्द भएको उनले बताए । चितवन पनि पूर्णरुपमा ब्ल्याकआउट छ ।
काठमाडौंका पनि रिङरोड बाहिरका विभिन्न ठाउँमा इन्टरनेटको तार काटिएको छ । इमाडोल, कलंकी, भक्तपुरलगायतका स्थानमा इन्टरनेट अवरुद्ध रहेको पराजुलीले बताए ।
प्राधिकरणले १६ असोजबाट तार काट्न थाल्ने भनेर अगाडि नै सूचना निकालेको थियो । तर व्यवसायीहरु आन्दोलित बनेपछि सञ्चार मन्त्रालयको अग्रसरतामा भएको वार्तामा भाडा उल्लेख्य नबढाउने सहमति भएको थियो । उक्त सहमति विपरीत प्राधिकरणले आज तार काट्न सुरु गरेको हो ।
हिजो मात्रै महासंघले सञ्चार सचिव बैकुण्ठ अर्यालसमक्ष ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्ने क्रममा अर्यालले एक-दुई दिनमा समस्या समाधान गर्ने आश्वासन दिएका थिए । राजश्वसँग सम्बन्धित विषय भएकाले मन्त्रीपरिषदमा लैजानुपर्ने हुनसक्ने उनले बताएका थिए ।
इस्पानका अध्यक्ष पराजुलीले आज १२ बजे मात्रै सञ्चार मन्त्रालयबाट आफूहरुलाई तार काट्न प्राधिकरणलाई रोक्ने जानकारी आएको बताए ।
‘सञ्चार मन्त्रालयले तार काटिँदैन भनिरहेको थियो, तर प्राधिकरणले धमाधम काटिरहेको छ,’ उनले भने, ‘राज्यका निकायहरुबीच नै समन्वय नभएपछि हामीले के गर्ने ?’ प्राधिकरणले बढाएको भाडादर कुनै पनि हालतमा कार्यान्वयन गर्न नसकिने पराजुलीको भनाइ छ ।
उनले भने, ‘उसले भनेको पैसा हामी तिर्नै सक्दैनौं । यदि त्यसैमा अडिग रहने हो भने सरकारले इन्टरनेट सेवा नै बन्द गराउन खोजेको भनेर बुझ्दा हुन्छ ।’
महासंघका अध्यक्ष शर्माले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आफूहरु छलफलमा रहेको जानकारी दिए । इन्टरनेट सेवा प्रदायकहरुसँग समेत छलफल गरेर आगामी कदम चाल्ने उनको भनाइ छ ।
प्राधिकरण भन्छः पहिलो चरणमा सांकेतिकरुपमा काटेका हौं
नेपाल विद्युत प्राधिकरण आज पहिलो चरणमा सांकेतिक रुपमा तार काटिएको जनाएको छ । प्राधिकरणका निर्देशक श्रीराम पाण्डेले आज सबै वितरण केन्द्रबाट एक वा दुईवटा तार काटिएको बताए ।
सरकारले तोकेको राजश्व उठाउनका लागि प्राधिकरणले कदम चालेको उनको भनाइ छ ।
‘हामीले आज पहिलोचरणमा सांकेतिकरुपमा पैसा नतिर्नेहरुको तार काटेका छौं । अब एक दुई दिनमा व्यवसायीहरु आएर भेरिफिकेसन गर्न सुरु गरे भने यो क्रम रोकिन्छ । नत्र अर्को हप्ता थप तार काट्नुको विकल्प छैन,’ उनले भने ।
व्यवसायी आन्दोलित
यसैबीच, विद्युत प्राधिकरणले इन्टरनेट तथा केवुल टिभीका तारहरु काट्न थालेपछि सेवाप्रदायकहरु आन्दोलित बनेका छन् । चितवनमा आज विद्युत प्राधिकरण भरतपुर कार्यालय अगाडि धर्ना दिँदै नाराबाजी भयाे।
प्रदर्शनका क्रममा ‘तार काट्न पाइँदैन’, ‘व्यवसायको सुरक्षा गर’, ‘कुलमान घिसिङ– मुर्दावाद’लगायतका नारा लगाइएकाे थियाे ।
एनआइ एसपिएनका संयोजक दिपक अधिकारीले प्राधिकरणले जथाभाबी पोल भाडा बढाएर इन्टरनेट र केवुलको तार काटेको आरोप लगाए । ‘४ सय प्रतिशत भाडा बढायो, तर हामीले लिने सेवाशुल्क बढेन,’ उनले भने, ‘साविकको पोल भाडा तिर्न तयार छौँ ।’

Leave a Reply