कांग्रेस बैठक : हिमाली जिल्लाका पालिकास्तरीय अधिवेशन अनुमति लिएर सार्न सकिने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ ।

सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकमा मंसिर ९-१३ को निर्धारित मितिमै महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठकमा महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराइएको छ ।

‘जुन मिति निर्धारण गरेका छौं । त्यसबारेमा अहिले कसैलाई कुनै कन्फ्यूजन नराख्नका लागि र बैठकमा महाधिवेशन मंसिरबाट अलि पछाडि जाने होकि कसैले प्रस्ताव पो राख्नु भयो कि भनेर खासगरी महामन्त्रीज्यूको नाम भनेर पनि आयो,’ बैठकपछि प्रवक्ता शर्माले भने, ‘त्यो प्रकारको विषयमा अहिले हामी गएका छैनौं । जानुपर्ने खण्ड आयो भने पनि केन्द्रीय समितिमा हामी विधिवतरूपमा जान्छौं ।’

बैठकले भोलि ९ गते निर्धारित समयमै पालिकास्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । हिमाली जिल्लालगायत कतिपय जिल्लामा पालिकास्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्य समितिको भावना अनुसार केन्द्रीय निर्वाचन समितिबाट अनुमति लिएर गर्न सकिने निर्णय पनि बैठकले गरेको शर्माले जानकारी दिए ।

बैठकले बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *