नवौं राष्ट्रिय खेलकुद फागुनमा गर्ने योजना छ: सदस्यसचिव सिलवाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले नवौं राष्ट्रिय खेलकुद आगामी फागुनमा आयोजनाको लक्ष्य लिएको बताएका छन् । बर्लिन म्याराथनमा सहभागी हुन जाने धावक गोपीचन्द्र पार्कीलाई शुभकामना दिन आयोजित समारोहमा बोल्दै सदस्य सचिव सिलवाले नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीका मुख्यमन्त्रीसँग छलफल भइरहेको बताए ।

‘अहिले हामी नवौं राष्ट्रिय खेलकुदको तयारीमा छौं । हिजो मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायत भेटघाट भयो, मैले कुरा राखेको छु,’ उनले भने, ‘हाम्रो प्रोपोजल फागुनको ६ गतेदेखि १६ गतेसम्म नवौं राष्ट्रिय खेलकुद आयोजन गर्नेछ ।’

अर्को वर्ष चीनको हाङझाओमा हुने एसियन गेम्सको तयारी पनि शुरू गर्ने सदस्यसचिव सिलवालले बताएका थिए ।

‘खासखास खेलाडीबाहेक हामी नवौं राष्ट्रिय खेलकुदबाट खेलाडी छनोट गर्छौं र एसियन गेम्सका लागि बन्द प्रशिक्षणमा राख्छौं,’ उनले भने, ‘त्यसपछि बन्द प्रशिक्षणमा राखेर हाम्रो एसियन गेम्सको तयारी हुनेछ । एसियन गेम सकिनेबित्तिकै हामी १४औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा राख्छौं ।’

सन् २०२२ को मार्चमा साग आयोजना हुने बताउँदै सिलवलले नियमित रूपमा प्रशिक्षण, प्रतियोगिता भयो भने नेपालले पनि राम्रो नतिजा ल्याउन सक्ने बताए ।

‘वैज्ञानिक ढंगले प्रतियोगिता र प्रशिक्षण भयो भने अवश्य पनि खेलमा राम्रो परिणाम आउँछ,’ उनले भने, ‘हाम्रा खेलाडीसँग त्यो क्षमता छ । प्रशिक्षकमा पनि क्षमता छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *