फागुन २३ पछिका पीडादायी क्षण सुनाउँदै अष्टलक्ष्मीले भनिन्- अब यस्तो कहिल्यै नहोस्

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष तथा वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले काठमाडौंबाट सिंगो देशलाई पार्टी विभाजनविरुद्ध सन्देश दिइएको दावी गरेकी छन् ।

काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले देशको राजधानी र सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंले एमालेमात्र नभएर एमालेबाहिरकालाई पनि एमाले झन् बलियो छ भनेर सन्देश दिइएको बताइन् ।

माधव नेपाललाई छाडेर एमालेमै बसेकी शाक्यले माओवादीसँग एकीकरणपछि तीन महिनाभित्र सबै कमिटीहरू बनाउने भनिए पनि त्यो नहुँदा पार्टी संगठन अस्तव्यस्त र अराजकतामा फसेको बताइन् ।

अदालतले फैसला गरेपछि आफूहरू एमाले हुन नपाउँदा जिन्दगीमा सबैभन्दा पीडा भएको सुनाउँदै १० बुँदे सहमतिले आफूहरू एमाले हुन पाउँदा सबभन्दा खुसी भएको शाक्यले बताइन् ।

शाक्यले भनिन्, ‘कमरेडहरू, हामी लामो समय बाहिर बस्नुपर्‍यो, एमाले हुन पाइएन, मेरो जिन्दगीमा सबैभन्दा पीडाको दिन थियो त्यो । कति रातभर सुत्न सकिन । अब हामी एमाले विभाजनविरुद्ध एकजुट बनौं । विगतमा जे भयो अब यस्तो कहिल्यै नहोस् ।’

शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरस: पालना गर्दै सबै कमिटीलाई क्रियाशील बनाउनुपर्ने भन्दै नेतृत्वले ठूलो छाती बनाउनुपर्ने बताइन् । एमाले बलियो हुनुपर्छ भनिरहँदा नेतृत्वबीच पनि एकता हुनुपर्ने भन्द शाक्यले ओलीलाई फराकिलो छातीका साथ नेतृत्व गर्न आग्रह गरिन् ।

शाक्यले प्यानलगत चुनावले एमाले कमजोर भएको भन्दै अब कहिल्यै पनि प्यानल बनाएर चुनाव लड्न नहुने प्रस्ताव आफ्नो रहेको बताइन् ।

Comments

One response to “फागुन २३ पछिका पीडादायी क्षण सुनाउँदै अष्टलक्ष्मीले भनिन्- अब यस्तो कहिल्यै नहोस्”

  1. Nagendra Avatar
    Nagendra

    हो नि, झिंगाको पछि लाग्दा फोहोरको डङ्गुर तिर सोझिएको थियो बाटो, सचेत मान्छेले थाहा पाए अनि मौरीको पछि आए, लाम बढ्द भए अब फूलबारीमा पुग्ने हो !! छन् कोहि यस्तै बाटो बिराएका भने, कुनै संकोच र हिनता नलिई लाग्नु पर्ने त्येतै हो, राजनीति देशको लागि गर्ने हो भन्ने सम्झने चेत खुलेको भए देखिने त्येही हो !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *