रूपन्देही । एमालेनिकट युवासंघका नेता प्रचण्ड थैवको हत्या अभियोगमा जेल सजाय भोगेका सुजित विकलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख स्वकीय सचिव बनाएपछि थैवको परिवारले आपत्ति जनाएको छ ।
स्वर्गीय थैवकी आमा सुकन्या थैवले ‘आफ्नो छोराका हत्यारा’लाई लुम्बिनीका मुख्यमन्त्री केसीले राज्यको सेवासुविधा दिने गरी नियुक्ति दिँदा परिवारमा पीडा थपिएको बताइन् ।
स्वर्गीय थैवकी श्रीमती लक्ष्मी थैवले मुख्यमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले अपराधमा संलग्नलाई आफ्नो प्रमुख स्वकीय सचिव बनाउनु लज्जाको विषय भएको बताइन् ।
थैवकी दिदी सुष्मा श्रेष्ठले अपराध गरेर राज्यको सम्पत्तिमा हालीमुहाली गर्नेगरी मुख्यमन्त्रीले नियुक्ति गर्नु पीडित परिवारलाई मात्रै नभएर बुटवलवासीलाई चुनौती भएको बताइन् ।
तत्कालीन जनमुक्ति सेनाका लडाकु विक नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसिएल) रुपन्देहीका पूर्वअध्यक्ष हुन्। तनहुँको खैरेनीटारका स्थायी बासिन्दा खरेन्द्र विक सशस्त्र युद्वको समयमा सुजित विकको नामले परिचित थिए।
स्वर्गीय थैवका साथी कांगेस कार्यकर्ता हरि क्षेत्रीले विकलाई लुम्बिनी प्रदेश सरकारले सेवासुविधा दिनेगरी नियुक्ति दिनु गैरजिम्मेवारी कार्य भएको र आफूलाई समेत पीडा थपिएको बताए। सुजितको श्रीमती दीपा विक लुम्बिनी प्रदेशसभा सदस्य हुन्।
माओवादीले भने कैद मिनाहा भइसकेकाले नियुक्ति स्वभाविक भएको प्रतिक्रिय दिएको छ ।
मानवअधिकारवादी तथा वकिलहरूले सुजित कानुनी हिसाबले अयोग्य नभएपनि नैतिकताको हिसाबले महत्त्वपूर्ण जिम्मेवारीमा बस्नु उचित नहुने प्रतिक्रिया दिएका छन् ।
मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष गोविन्द खनालले गल्तीको सजायँ भुक्तानी गरेका व्यक्तिलाई समाजमा पुनःस्थापना नगरे द्वन्द्व व्यवस्थापन नहुने तर पीडित परिवारलाई आहात हुनेगरी दिइने ठूला सरकारी नियुक्ति उचित नभएको बताए ।
सरकारी नियुक्तिभन्दा समाजमा पुनःस्थापनाका लागि अन्य क्षेत्रमा यस्ता व्यक्तिको व्यवस्थापन गरे राम्रो सन्देश जाने उनको धारणा छ ।
वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडेले कानूनी सजाय भुक्तान गरेका व्यक्तिलाई सबै क्षेत्रमा रोक नलाग्ने भएपनि नैतिकताको हिसाबले सरकारी नियुक्ति दिने र लिने काम राम्रो नभएको बताए ।
विकले वाईसियल रुपन्देही अध्यक्ष भएका बेला २०६५ सालमा एमाले कार्यकर्ता थैवको हत्या अभियोगमा जेल भोगेका थिए । केही महिनाअघि विक रिहा भएका थिए ।

Leave a Reply