दशैंदेखि ‘जातको प्रश्न’को दोस्रो सिजन प्रसारण हुँदै, राजेश हमालदेखि दयाहाङ राईसम्मले कार्यक्रम होस्ट गर्ने (भिडिओ)

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’को दोस्रो सिजन असोज २२ गतेदेखि प्रसारण हुने भएको छ । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।

१२ एपिसोड रहेको कार्यक्रमको पहिलो सिजनले सफलता प्राप्त गरेपछि समता फाउन्डेसनले दोस्रो सिजन ल्याउन लागेको हो । अहिले दोस्रो अध्यायको लागि एपिसोड छायांकन भैरहेको छ ।

दोस्रो सिजनलाई अभिनेताद्धय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, गायक प्रकाश सपुत र संचारकर्मी निश्मा ढुंगाना चौधरीले संचालन गर्ने भएका छन् ।

शान्ता नेपालीको नेतृत्वमा निर्माण हुने जनाइएको कार्यक्रमको दोस्रो सिजन पनि १२ भागको हुनेछ ।

कार्यक्रममा बोल्दै अभिनेता हमालले जतिसुकै राम्रो संविधान बनाएपनि व्यवहारमा उतार्न ठूलो चुनौति रहेको बताए । जातको प्रश्नको पहिलो सिजन सुटिङ गर्दा आफूले जातिय विभेदलाई गहिराइबाट बुझ्न अनुभव पाएको बताउँदै हमालले संविधानमा लेख्नुभन्दा व्यवहारमा उतार्नु महत्वपूर्ण रहेको बताए ।

अर्का होस्ट तथा अभिनेता राईले समुदायमा गरिने जातीय विभेद एउटा समुदायको मात्र चासोको विषय नरहेको बताए । ‘जब हाम्रो समाजमा जातकै आधारमा विभेद गरिन्छ भने त्यो समाजकै ठूलो समस्या हो । म पनि समाजको माइलो जातको रुपमा हुर्किएको मान्छे हुँ । मैले पनि विभेदका कुराहरु भोगेको छु ।’

कार्यक्रममा नेपालमा रहेको जातिय विभेदको समस्या समाधान र दलितहरुले भोगिरहेको यथार्थता र अनुभवलाई समेट्ने गरिन्छ । नेपाल प्रेससँग कुरा गर्दै निर्देशक नेपालीले पहिलो सिजनजस्तै दोेस्रोलाई पनि दर्शकले रुचाउने बताइन् ।

‘समता फाउण्डेशनले जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जात-जातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न ‘जातको प्रश्न’ को दोस्रो सिजन शुरू गरेको हो’ जारी विज्ञप्तिमा उल्लेख छ । दशैं घटस्थापनाको भोलिपल्टदेखि दोस्रो सिजन सुरु हुनेछ ।

 

Comments

One response to “दशैंदेखि ‘जातको प्रश्न’को दोस्रो सिजन प्रसारण हुँदै, राजेश हमालदेखि दयाहाङ राईसम्मले कार्यक्रम होस्ट गर्ने (भिडिओ)”

  1. ‌‌डिबि प्रकास रसाइलि Avatar
    ‌‌डिबि प्रकास रसाइलि

    धेरै राम्रो प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *