एमाले अवरोध छिचोल्दै लम्किएका प्रचण्डले के भने नेकपा एसका सांसदलाई ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार तेस्रो बैठक एमालेको अवरोध र नाराबाजीका बीच अघि बढेपछि माओवादी अध्यक्ष प्रचण्डले खुसी व्यक्त गरेका छन् ।

अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरे लगत्तै सभामुखले बैठक भदौ २५ गतेसम्मलाई स्थगित गरेर हतारहतार बाहिरिएका थिए ।

सभामुख बाहिरिएपछि पनि एमालेका सांसदहरु नाराबाजी गर्दै थिए । उनीहरुको नाराबाजी नेकपा एसका सांसदहरुलाई संसदमा राख्न नपाइने भन्नेमा थियो ।

नाराबाजी चलिरहदा माओवादी अध्यक्ष प्रचण्ड भने लम्किँदै नेकपा एसका सांसदहरु भएको लहरमा गए । उनले त्यहाँ नेकपा एसका नेताहरु जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सरला यादव र पुष्पा कर्ण कायस्थसँग एकैछिन भलाकुसारी गरे ।

प्रचण्डले एमालेको प्रतिवाद गर्नुस् भनेका हुन् ? नेपाल प्रेसको प्रश्नमा नेकपा एसका सांसद विरोध खतिवडाले आफ्नै मौलिक शैलीमा भने, ‘होइन, तीजको दर कस्तो चल्दैछ भनेर कुरा भएको हो ।’

खासमा प्रचण्डले नेकपा एसका नेताहरुसँग एमालेले अवरोध गरेपनि तेस्रो प्रयासमा संसदको कारवाही अघि बढेकोमा ढुक्क व्यक्त गरेका रहेछन् ।

खतिवडाले प्रचण्डसँगको संवाद सुनाउँदै नेपाल प्रेसलाई भने, ‘तेस्रो अवरोधमा सदनको प्रक्रिया अघि बढ्यो अब ढुक्क भए हुन्छ भन्नुभएको हो । प्रक्रिया अघि बढेपछि यस्ता नाराबाजी त पहिले हामीले पनि गरेकै हो । केही छैन ।’

खतिवडाले एमालेले आफूहरुलक्षित विरोध जारी राखे संसदीय प्रक्रियाबाटै प्रतिवाद गर्ने समेत बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *