कारवाही गरिएका १४ सांसद उपस्थित भए सदन चल्न नदिने ओलीको घोषणा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने चेतावनी दिएका छन् ।

‘सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण आउला र त्यसको मूल्यांकन गरेर अघि बढौंला,’ ओलीले भने, ‘गैरसांसदको उपस्थितिमा संसद चल्दैन । यदि आज हामीले कारवाही गरेको सांसद उपस्थित हुन्छन् भने हामी कसरी संसदमा बस्न सक्छौं ?’

आफूहरूले साउन २५ गते निष्कासन गरेका मान्छे भदौ २३ गतेको बैठकमा उपस्थित हुन नमिल्ने ओलीको तर्क छ । ‘यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा गैरकानूनी ढंगले सदन प्रारम्भ हुनै सक्दैन,’ ओलीले भने, ‘संसदका नियमावलीले पनि त्यो दिँदैन ।’

गैरसांसदलाई बैठकमा बस्न दिए एमालेमा गएवापत कारवाहीमा परेका माओवादीका सांसदलाई पनि फर्काउनु पर्ने उनले माग गरे । ‘त्यसो हो भने पहिले निकालिएका सांसदहरूलाई हाजिर गर्नुपर्‍यो,’ ओलीले भने, ‘रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायतलाई पनि हाजिर गर्नुपर्‍यो ।’

सभामुख अग्निप्रसाद सापकोटा एमाले सिध्याउन लागेको भन्दै यथास्थितिमा उनलाई सभामुख मान्न नसकिने ओलीको भनाइ । ‘जो एमाले सिध्याउन खोज्छ, त्यसलाई हामीले सभामुख कसरी मान्ने ?,’ उनले भने, ‘ हामीलाई सिध्याउन खाजेको छ भने उनको निष्पक्षतामा कसरी आश्वस्त हुन सक्छौं ? सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने अवस्था छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *