तीजः पुरुषसत्तामा जेलिएको नारी पर्व

परम्परागत सांस्कृतिक पर्व तीजलाई ‘महिला पर्व’को रूपमा बुझिन्छ । तीजलाई ‘हरितालिका तीज’ भनिन्छ । यसको विशेष अर्थ र सन्देश विशिष्ट छ ।

अरु त प्रकृति, परम्परा, सामाजिक अवस्था, मानवीय चेतनाको स्तरले निर्धारण गरेका विषय हुन् । सबैलाई जोड्न मानिसको संवेदना जोडिनु पर्दछ । सुख-दुःखको बयान, खानपान, पहिरन, नाचगान आदिले यसको वैशिष्ट्यलाई निरन्तरता दिन्छन् ।

कतिपय नारीवादी अभिन्ताहरू तीजलाई पुरुषको भक्तिभाव बहन गर्ने पर्वको औचित्य नरहेको ठान्दछन् । पुरुषहरूले यसलाई महिला पर्वको रूपमा देख्ने र महिलाहरूले पुरुषको सुस्वास्थ्य र दीर्घायूको विषय भएकोले यो पितृसत्ताको विषय ठान्ने अन्तर्विरोध यस पर्वले भोगिरहेको छ ।

यसलाई मूलतः महिला केन्द्रित पर्वको रूपमा लिने गरिएको छ । माइतीले चेलीबेटीलाई रसिलो, पोसिलो दर खुवाएर मनाउने परम्परा रहेको भए पनि यस पर्वको आधार पुराण पनि हो । यस पर्वको विषयवस्तुसँग विष्णु र शिव (महादेव)को पनि सम्बन्ध रहेको छ ।

चलनचल्ती अनुसार अविवाहिताहरूले असल पति प्राप्त गर्न र विवाहिताहरूले पतिको दीर्घायूको कामना गर्दै व्रत बस्दछन् र पार्वतीसहित महादेवको पूजाअर्चना गर्ने गर्दछन् । हिन्दू धर्मभित्रका वैष्णव सम्प्रदायमा तीज मनाउने प्रचलन छैन । विधवा महिलाहरूले पनि अन्य महिलाहरूले जसरी यो पर्व मनाउँदैनन् । नेपालको सबै क्षेत्र, जाति, संस्कृतिका मानिसहरूले एउटै मान्यताका साथ नमनाए पनि मनाउनेहरूका बीचमा यसका अन्तर्वस्तुमा एकरूपता देखिन्छ ।

पानी पनि नखाएर व्रत बस्नुपर्ने, व्रतपछि श्रीमान्को खुट्टा पखालेर त्यहीं पानी (जल) खानुपर्ने, नारी-पुरुष समानताको भाव नबोक्ने, तीजको कथाले अहिलेको सन्दर्भमा व्यवहारिक सन्देश नदिने आदि कारणले व्रत बस्ने परम्परा छुट्दै गएको छ । तर भेटघाट, रङ्ग-रमाइलो, खानपिन आदिका लागि यो पर्व लोकप्रिय बनिरहेको छ भने यसको मूल मर्मको सकारात्मक पाटो खल्बलिँदै जान थालेको देखिन्छ ।

हजुरआमा, हजुरबा, आमा-बा, दिदी-बहिनी, दाजु-भाइ एकै घरमा भेटेर मीठो-मसिनो खाने, घरका दुःख-कष्टबारे अन्तक्रिया गर्ने, नाच-गान गरेर रमाइलो गर्ने यो पर्व साह्रै आत्मीय पर्व हो ।

महिलाहरूले नै मनाउने, महिलाहरूमा नै केन्द्रित पर्व भए पनि पुरुषप्रति यो समर्पित छ । हाम्रो देशको भूगोल, यहाँको प्रकृति, सामाजिक प्रचलनका दृष्टिले यो सांस्कृतिक पर्व हो । महिलाहरू विवाहपश्चात् पुरुष(पति)को घरलाई आफ्नो घर बनाउँछन् । पतिको घर नै आफ्नो घर भएपछि माइतीघर क्रमशः पर हुँदै जान्छ । छोरी, दिदी-बहिनीप्रति माइतीको माया र माइतीप्रति छोरी, दिदी-बहिनीप्रति उस्तै हुने भए पनि आ-आफ्नो घरसंसार नै महत्वपूर्ण हुन्छ ।

हरेक बुहारीले घरका ज्येष्ठ सदस्यहरूको हेरविचार, परिवारका अन्य अन्य सदस्यहरूप्रतिको जिम्मेवारी, आफ्ना सन्तानको लालन-पालन, जीविकाका काममा समर्पित रहनुपर्ने हुन्छ । यस्तो सामाजिक प्रचलनका कारण माइती र चेलबेटी बीचको भेटघाट सहज हुँदैन थियो । अहिले जस्तो यातायात तथा सञ्चारको प्रचुरता थिएन । माइती र चेलीबेटीबीचको भेटघाटको अवसर भनेको यिनै चाडबाड थिए । यस सम्बन्धमा तीज विशेष छ ।

अचेल तीजको त्यो परम्परा त्यति वैज्ञानिक देखिँदैन, तर त्यति बेलाको आँखाले हेर्दा यसभित्र धेरै वस्तुगत र भावनात्मक पक्षहरू भेटिन्छन् । हजुरआमा, हजुरबा, आमा-बा, दिदी-बहिनी, दाजु-भाइ एकै घरमा भेटेर मीठो-मसिनो खाने, घरका दुःख-कष्टबारे अन्तक्रिया गर्ने, नाच-गान गरेर रमाइलो गर्ने यो पर्व साह्रै आत्मीय पर्व हो ।

समग्रमा भन्नुपर्दा यो पर्व नारीमा मात्र सीमित छैन, किनभने यसको अन्तर्वस्तुमा त असल पुरुष प्राप्तिको कामना र पतिको सुस्वास्थ्य र दीर्घजीवनको विषय छ । ‘महिलाहरूको महान् पर्व तीज’ पुरुषप्रधानताबाट मुक्त देखिँदैन ।

सबैको भावनाको प्रतिनिधित्व हुने गीत र नाचले मन हलुका हुनु स्वाभाविक हो । समाजमा क्रमशः परिवर्तनको आवश्यकता तथा आएका परिवर्तनसँगै तीजका गीतहरू घर-परिवारका दुःख-विरहमा मात्र सीमित रहेनन् । समाज र देश-दुनियाँका विषयमा पनि गीतहरू रचिन लागे, तिनै गीतका माध्यमबाट सामाजिक अवस्था, आवश्यकता अनुसारका चेतना प्रसारित हुन थाले । नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा तीज र यस अवसरमा गाइने गीतहरूले ठूलो प्रभाव पारेको छ ।

तीज पर्वको अन्तर्यमा महिलाहरूको कूटनीतिक चातुर्य पनि झल्किन्छ । आफ्ना अधिकारका विषय प्रत्यक्ष रूपमा भन्न गाह्रो थियो । अझ कमजोरी औँल्याउनु, विरोध गर्नु त धेरै परको विषय थियो । यस्तो अवस्थामा पतिको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दै अधिकारको पक्षपोषण गर्ने विषयले पुरुष विरोधी पनि देखिँदैन भन्ने चेतले पनि काम गरेको हुनुपर्छ ।

तर, समग्रमा भन्नुपर्दा यो पर्व नारीमा मात्र सीमित छैन, किनभने यसको अन्तर्वस्तुमा त असल पुरुष प्राप्तिको कामना र पतिको सुस्वास्थ्य र दीर्घजीवनको विषय छ । ‘महिलाहरूको महान् पर्व तीज’ पुरुषप्रधानताबाट मुक्त देखिँदैन । अबको पुस्ताले यसलाई महिला-पुरुष समानताका विषयसँग जोडेर विकास गर्नु पर्दछ ।

माथि उल्लेख गरिएजस्तै यस तीज पर्वलाई ‘हरितालिका’ भनिन्छ । शब्दसँग अर्थ हुन्छ । अर्थसँग परिवेश हुन्छ । ‘हरितालिका’ शब्दको संरचना ‘हरिता’ र ‘आलिका’ मिलेर बनेको छ । हरिता अर्थात् अपहरण गरिएकी-लुकाइएकी, आलिका अर्थात् साथीहरूद्वारा । यसरी हेर्दा हरितालिकाको अर्थ हुन्छ- साथीहरूद्वारा हरण गरिएकी-लुकाइएकी ।

यस शब्दले अर्थ माग्यो र पायो । यो अर्थले पुनः प्रश्न जन्मायो- को, कहिले, किन साथीहरूबाट अपहरणमा परेकी ? यो कथा महत्वपूर्ण र सन्देशमूलक छ । पार्वती अर्थात् पर्वतकी छोरी । मेना(मेनका) र पर्वतराज हिमालयकी छोरी पार्वती । पार्वती यौवन अवस्थामा पुगेकी थिइन् । उनको विवाह गर्ने उमेर भएको थियो । उनी पनि आफूले रूचाएको पुरुषसँग विवाह गर्न चाहन्थिन् । उनले चाहेका पुरुष थिए- शिव, महादेव ।

यता पार्वतीको विवाहको उमेर भएको देखेपछि नारद ऋषिले आफ्ना आराध्य भगवान विष्णुलाई सम्झे । उनले विष्णुसँग उनका लागि पार्वती माग्ने कुरा गरे । विष्णुले स्वीकृति दिए । नारद तत्काल पर्वतराज हिमालयसँग पार्वतीको विवाह विष्णुसँग गर्ने प्रस्ताव लिएर जान्छन् । यसपछिको प्रसंगमा स्वस्थानी व्रत कथामा लेखिएका यी विषय हेरौँ ।

‘तब नारद भन्दछन्- हे गिरिराज ! तिमीछेउ म केही बिन्ती गर्न आएँ । तिम्री पुत्री पार्वती वैकुण्ठनाथ विष्णुलाई देऊ ।’ यसरी पार्वतीका पिता पर्वतराज हिमालयसँग पार्वतीको विवाह विष्णुसँग गर्न प्रस्ताव गरे । अनि, हिमालयले पनि यो कुरा स्वीकार गरे र भने, ‘हे नारद ! भलो भन्यौ । तिम्रा आज्ञाले मेरी पुत्री पार्वती विष्णुलाई दिएँ ।’ पार्वतीको विवाह विष्णुसँग हुने निधो गरे । यस अर्थमा पितृसत्ताले आफू अनुकूलको निर्णय लियो ।

यो कुरा पार्वतीले आफ्ना सखीहरूबाट थाहा पाइन् । यसपछि पार्वतीले भनिन्, ‘मैले बाल अवस्थादेखि महादेव पति पाउँ भनी धाइरहेछु । अझै पनि श्रीमहादेवलाई नदिई अरु कसैलाई दिए भने हत्या(आत्महत्या ?) गरी मर्दछु ।’

पार्वतीको यस्तो दृढ अठोट सुनेपछि उनका सखीहरू भन्दछन्, ‘हे पार्वती ! उसो भए यहाँ नबस । हामी कसैले नदेख्ने ठाउँमा लुकाई आउँछौँ, हिँड । त्यसो नगरे तिमीलाई लैजान्छन् ।’ यसरी पार्वती सखीहरूबाट भगाइएकी-लुकाइएकी थिइन् ।

त्यसै समयमा पर्वतीले महादेवलाई भेटिन् र आफ्नो उनीसँगै विवाह गर्ने पूर्वप्रतिबद्धता दोहोर्‍याइन् । महादेवको सल्लाहअनुसार उनी घर गइन् । उनका पिता रिसाएका थिए । उनले सोधे, ‘कहाँ गएकी थिइस् ?’ पार्वतीले जवाफ दिईन्, ‘हे पिता ! मैले केटाकेटीदेखि महादेव स्वामी पाउँ भनी उनैलाई धाइरहेछु । तपाईंले विष्णुलाई कन्यादान दिन लाग्दा म लुक्न गएकी थिएँ ।’

सबै क्षेत्रमा महिलाहरूको सहभागिता बराबरी छैन भन्ने विषय हाम्रो संविधान र कानूनहरूले स्वीकारेकाछन् । नत्र, ३३ प्रतिशत, ४० प्रतिशतको प्रावधान किन राखिनुपर्थ्याे र ?

यसपछि विष्णुले समेत पार्वतीको कुरालाई समर्थन गरे । अन्ततः पार्वतीको विवाह महदेवसँग भयो । सर्व शक्तिसम्पन्न विष्णु, विष्णुका परंभक्त महर्षि नारद, पर्वतराज हिमालय आदि शक्तिशाली पुरुषहरूको चाहना र निर्णयका विरुद्ध दृढतापूर्वक उभिएकी पार्वतीको संघर्ष विजयी भयो, यस अर्थमा महिलावाद स्थापित भयो ।

सत्तामा पुरुषप्रधानता वा पितृसत्ताको विषयमा केही भनिरहन नपर्ला । हामीले ‘त्यो सत्ता’ यो सत्तामै देखिरहेका छौँ, भोगिरहेका छौँ । सत्ता भनेको राजकीय सत्ता मात्र होइन भन्ने बुझिएन भने अर्थको अनर्थ हुन सक्दछ ।

सामान्यतया महिलावाद या पुरुषवाद दुवै सही होइन । तर, पुरुषवाद(पितृसत्ता)लाई सन्तुलनमा ल्याउने प्रयत्न स्वरूप वहसमा ल्याइएको महिलावाद स्वागतयोग्य छ ।

यद्यपि, सबै महिलाहरूको अवस्था उस्तै छैन । एकातिर, देशको सर्वोच्च स्थानमा महिलाको उपस्थिति देखिरहेका छौँ । अर्कातिर, अहिले पनि महिला सहभागिता अडकलेर हुँदै गरेको अवस्था छ । सबै क्षेत्रमा महिलाहरूको सहभागिता बराबरी छैन भन्ने विषय हाम्रो संविधान र कानूनहरूले स्वीकारेकाछन् । नत्र, ३३ प्रतिशत, ४० प्रतिशतको प्रावधान किन राखिनुपर्थ्याे र ?

वास्तवमा सबै महिलाहरू पुरुषको बराबरी गर्न सक्दैनन् । किन होला ? यतातिर सोच्ने फुर्सद कसलाई छ र ? कतिपय संस्थाहरूले सांगठानिक संरचनामा महिलाका लागि छुट्याइएका स्थान ‘सक्षम महिला नभएसम्म’ खाली राख्ने निर्णयसमेत गरेका छन् ।

महिलाहरूको अवस्था यस्तो किन र कसरी भएको होला ? स्पष्ट छ, विगतको हाम्रो लिंगका आधारमा हुँदैआएको कार्यविभाजनको परिणाम हो । अहिले पनि अचल सम्पत्तिमा महलिाको स्वामित्वका लागि राज्यले राजस्वमा ‘छूट’ दिनुपरेको छ । किन होला ?

ज पर्व परम्परादेखि चलिआएको, मानवीय आवश्यकता र सम्वेदना वहन गरेको, दृढ संकल्पका बलमा महिलाले पितृसत्तालाई सम्झौतामा आउन वाध्य बनाएको सन्देशमूलक पर्व हो । महिला-पुरुष समविकास र सद्भावका लागि तीज पर्व महत्वपूर्ण छ । तीज पर्वले दिने सांस्कृतिक सन्देश समानता, सद्भाव, सम्मान र सकारात्मक सोच हो ।

सामान्यतया महिलावाद या पुरुषवाद दुवै सही होइन । तर, पुरुषवाद(पितृसत्ता)लाई सन्तुलनमा ल्याउने प्रयत्न स्वरूप वहसमा ल्याइएको महिलावाद स्वागतयोग्य छ । नेपालमा चलेको महिलावादी वहसले पुरुष विरोधी नारा बोकेको देखिँदैन, बरु महिला-पुरुष समविकासको झण्डा बोकेको देखिन्छ ।

अपवादलाई हेरेर निष्कर्षमा पुग्नु हुँदैन । नेपाली महिलावादीहरूले लोकतान्त्रिक महिलावाद, समाजवादी महिलावाद भन्दै आएको देखिन्छ । अब महिलावाद मात्र होइन, महिला र पुरुष मात्र लैंगिक पहिचान होइन भन्ने समेत बुझ्न आवश्यक छ । महिला र पुरुषबाहेक अन्य(तेस्रो लिङ्गी) पहिचान भएकाहरूका विषयमा पनि ध्यान आवश्यक छ । सबै लिंगका मानिसहरूबीच समानता, सद्भाव, सम्मान र सकारात्मक सोच विकास गर्न लैंगिक आन्दोलनहरूलाई आत्मसात गर्न आवश्यक छ ।

परम्पराको प्रारम्भ त्यति बेलाको आवश्यकताले गर्दछ । जस्ताको तस्तै अवलम्बन गरियो भने त्यो अन्धानुकरण हुन्छ र अन्धविश्वासमा परिणत हुन्छ । मूल आशयबाट भड्कियो भने त्यो उच्छृङ्खलता हुन्छ । मूल मर्मलाई बलियो गरी समातेर त्यसलाई युगानुकुल अवलम्बन गरियो भने त्यो संस्कृति बन्दछ ।

तीज पर्व परम्परादेखि चलिआएको, मानवीय आवश्यकता र सम्वेदना वहन गरेको, दृढ संकल्पका बलमा महिलाले पितृसत्तालाई सम्झौतामा आउन वाध्य बनाएको सन्देशमूलक पर्व हो । महिला-पुरुष समविकास र सद्भावका लागि तीज पर्व महत्वपूर्ण छ । तीज पर्वले दिने सांस्कृतिक सन्देश समानता, सद्भाव, सम्मान र सकारात्मक सोच हो । तीज पर्वको सबैमा शुभकामना !

(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुन्)

Comments

One response to “तीजः पुरुषसत्तामा जेलिएको नारी पर्व”

  1. रमेश कोइराला Avatar
    रमेश कोइराला

    सही कुरालाई सबै माझ पुर्याउनु हाम्रो कर्तव्य हो।लेखकलाई बधाई एवं शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *