नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर अमेरिका जान खोज्ने ६ जना पक्राउ

काठमाडौं । अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकोमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको छ ।

अमेरिकी दुतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने छ जनालाई पक्राउ गरी कारबाही थालेको महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौँको कुलेश्वर बस्ने सुमितरत्न गुभाजु, मोरङ घर भई ललितपुर बस्ने अमरबहादुर कटुवाल, नवलपरासी घर भई कास्की बस्ने नरेश केसी, नवलपुर घर भई काठमाडौँ बस्ने लक्ष्मण पाठक, काभ्रेका दीप विष्ट र काठमाडौँ टेकुका सोहिली शाही रहेका छन् ।

उनीहरुलाई अमेरिकन राजदूतावास महाराजगञ्ज र काठमाडौँका विभिन्न स्थानबाट निम्न नक्कली शैक्षिक प्रमाणपत्रसमेत बरामद गरिएको छ । शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिको खोजतलास एवं थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *