चीनसँग सीमा विवादको प्रोपोगाण्डालाई गिज्याइरहेको यो १२ नम्बर पिलर

भारतले हडपेको नेपालको लिपुलेक-लिम्पियाधुरा-कालापानी क्षेत्रको भू-भाग फिर्ता गर्नुपर्ने र महाकाली नदीमा नेपाली नागरिक जयसिंह धामीको हत्या प्रकरणमा भारतसँग स्पष्ट कुरा गर्नुपर्ने बेलामा गठबन्धन सरकारले यतिबेला चीनसँग नेपालको सीमा समस्या रहेको जनाउँदै छानबिन समिति गठन गर्‍यो । सीमा समस्या नरहेको देशसँग आफैं समस्या खडा गरेर किन समिति गठन गर्‍यो र आफ्नो भूमि मिचिएको विषयमा अर्को छिमेकीसँग किन सरकार चुप रह्यो भन्ने प्रश्न उठिरहेको छ ।

चीनले नेपाली भूमि मिचेको भनी सरकारले छानविन समिति गठन गरेको बेला गतसाल त्यस क्षेत्रको भ्रमणमा निस्कँदाका केही अनुभूतिहरूलाई प्रस्तुत गर्नु सन्दर्भिक ठानेको छु ।

पोहोर साल ठीक यही समय हुम्लाको उत्तरी भेगका संस्कृति अध्ययनको लागि हुम्ला पुगेकी थिएँ । हुम्लाका सांसद छक्कबहादुर लामा र त्यहाँका भाइहरू थिन्ले, रिन्जीनको सहयोगमा त्यहाँको साँस्कृतिक अध्ययनमा थिएँ । त्यही समय हुम्लामा चीनतर्फबाट सीमा अतिक्रमण भएको भन्ने विवादित समाचारले काठमाडौंको राजनीति तात्दै थियो ।

कान्तिपुरमा असार १० गते चीनले सीमा मिचेको समाचार छापिएको थियो । परराष्ट्र मन्त्रालयले खण्डन गरेपछि समाचार गलत भएको भन्दै कान्तिपुरले क्षमा मागेको थियो (२०७७ असार १३ गतेको कान्तिपुर हेर्नुहोला) । अर्थात् कान्तिपुर झुट सावित भयो । यस्ता समाचार झुट सावित भइसक्दा पनि फरक-फरक मिडियाले किन फेरि प्रकाशित गर्छन् भन्ने कुरामा संशय हुन्छ, जुन स्वाभाविक पनि हो ।

म त्यहीँ रहेका बेला चीनसँगको सीमानाकाका विषयमा यस्ता समाचार छापिएपछि हुम्लाका नेता र सरोकारवालाहरूबीच बैठक भयो । छलफलमा हुम्लाका सांसद छक्कबहादुर लामा, नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामा, पाल्जोर तामाङ, त्यसबखतको नेकपा र कांग्रेसका नेताहरूको बैठकमा सहभागिता थियो ।

म बसेकै होटलमा बैठक भएको हुनाले सहभागी हुने मौका पाएँ । अर्को गज्जबको कुरा के भयो भने ‘तारन्तार सीमा मिचेको कुरा कांग्रेसले उठाएको भएर साँच्चै नेपाली भूमि मिचिएको पो छ कि ! अहिले नै हेर्न जाने’ भन्दै बैठकले सीमा क्षेत्रमा जाने निर्णय गर्‍यो । उहाँहरूको साथमा म पनि सँगै जान पाउने भएँ ।

भोलिपल्ट दिनभरी कहिले गाडी र कहिले हिँड्दै राति आठ बजे नेपालको अन्तिम गाउँ जाङ पुग्यौं । त्यो रात त्यहीँ बिताएर भोलिपल्ट बिहानै चार-पाँच बटुका नुन हालेको चिया पिएर गाडी लिएर निस्कियौं । मान्छे बस्नेसम्मको ठाउँलाई छोडेर बिहान निस्किएका हामी गाडी कतै नबिसाइ एक बज्न लाग्दा सीमाना नजिक पुगेका थियौं ।

गाउँ छोडेसँगै अलिअलि देखिने खरी कागजका रुख पनि देखिन छाडे । क्रमैसँग त्यसपछि ढुंगाका पहाड पनि देखिन छोडे । समथर भागमा पनि घन्टौं गाडी गुडेपछि एक बज्दा चीनसँगको सीमानामा पुग्यौं । बस्ती बसेको ठाउँबाट गाडीमा पनि झण्डै एक दिनको बोटो हिँडेपछि मात्र पुगिने त्यस ठाउँ ५२०० सय मिटर उचाइमा छ । स्वास फेर्न कठिन हुने त्यहाँ सीमा अध्ययनमा आउँदा धेरैले ज्यान गुमाएको कुरा सांसद् छक्कबहादुर लामा बताउँदै हुनुहुन्थ्यो ।

गाडी पुग्न सक्ने ठाउँसम्म गाडीमै गयौं । त्यसपछि बिसाएर आधा घण्टा हिँड्यौं । त्यो समथर सुख्खा पाखामा आधा घण्टा हिँडेपछि १२ नम्बर पिलर भएको ठाउँमा पुगियो । त्यो उचाइमा अक्सिजन कम थियो । मान्छे नै उडाउला जस्तो हावा चलेको थियो । अक्सिजनबिनाको हावाले ‘तत्काल मर्दैछु’ जस्तो हुन्थ्यो । तर, देशको सीमानाको संवेदना यस्तो हुने रहेछ, स्वास फेर्न गाह्रो भएको बेला पनि पिलर अंगालेर चिच्याइयो ।

त्यहाँबाट चीनतिर आँखाले देखुञ्जेल हेर्दा त्यता पनि कुनै बिरुवा वा भौतिक संरचना देखिएन । न त नेपालतिर नै केही देखियो । देखियो त केवल सीधा १८ किलोमिटर टाढाको कैलाश मानसरोवर । फेदमा नीलो मानसरोवर र सेतो कैलाशको टाउकोमात्र । हो त्यही निर्जन ठाउँमा नेपाल र चीनबीचको सीमाना छ । सीमा मिचिएको भनिएको ललुङ भन्ज्याङ १२ नम्बरको सीमा स्तम्भदेखि दक्षिणतिर १२ नम्बर पिलरभन्दा अन्दाजी एक किलोमिटर पश्चिमपट्टि पर्छ ।

अर्को ११ नम्बर पिलर यसको दक्षिणमा ३५ किलोमिटर पर छ । अर्को १३ नम्बर पिलर त झनै योभन्दा उचाइको मुस्ताङमा पर्ने रहेछ । त्यसैले अर्को पिलरमा पुग्नसक्ने कुरा भएन । तर, यहाँ हामी कति उचाइमा छौं र १२ नम्बर पिलर कतिमा छ भनेर कम्पासले नाप्दै गएका थियौं ।

सिमाना नक्सामा यो पिलर यति-यतिको अक्षांश र देशान्तरमा छ, अनि पिलरको छेउको पानी खोल्सी भएर यता पर्ने, कुन डाँडा यता रहने र कुन उता छ भनेर सिमाना छुट्याउँदाको लिखित दस्तावेज हाम्रो हातमा थियो । त्यसै ठाउँमा बाटो खन्दा चार वर्ष लगातार बसेका पाल्जोर तामाङ, नाम्खा गाउँपालिकका अध्यक्ष विष्णु लामा, बाटोको योजना ल्याउने स्वयं छक्कबहादुर लामा भएकोले हामीलाई भूगोल जान्न सजिलो थियो ।

नक्सा हेर्दै उहाँहरु भन्नुहुन्छ- खासमा हामीले सिमानाभन्दा झण्डै दुई किलोमिटर उतासम्म बाटो खनेछौँ । यदि त्यति नगरेको भए हामीले सामान ल्याउन सक्ने पनि थिएनौं । अब हामीले त्यो बाटो बनायौं, हामीलाई ‘त्यो जमिन दे’ भन्न त मिल्दैन । बरु उनीहरूकोमा बाटो नहुँदा पनि हामीलाई खन्न दिएछन् भनेर बुझ्नु पर्‍यो ।

यस्तो ठाउँ, जहाँ नजिकै एउटा विओपी पनि छैन । नजिकैको विओपी आउन पनि एकदिन लाग्छ । फेरि फर्केर जान सक्छ कि सक्दैन । यस्तो बेलामा उनीहरूकै सहयोग नलिइ केही काम पनि हुन सक्दैन । हाम्रो सीमाना भन्दा करिव १ किलोमिटर पर चीनतर्फ केही भवन बनेको देखिन्छ । त्यसलाई नै नेपाली भू-भाग भनी अध्ययन नै नगरी हल्ला चलाउनेले कुन नियतले नेपाली भूभाग मिच्यो भनेको होला भन्ने प्रश्न मनमा उब्जियो । सँगै रहेका गाउँपालिकाका अध्यक्ष विष्णु लामाले भने- हावाको भरमा आरोप लगाउँदा दुई देशबीचको सम्बन्धमा कटुता पलाउँछ ।

त्यहाँ एउटा कुरा चाहिं खड्कियो । सिमानाको पिलरमा रातो रङ लगाइएको थियो । यो किन लगाइएको भनेर हामीभन्दा अघि पुगेका हुम्लाका प्रमुख जिल्ला अधिकारीले सोध्दा चिनियाँ सुरक्षाकर्मीले ‘सीसी क्यामेरा जडान गर्न यसो गरिएको’ भनेर जवाफ दिएका थिए । चीनले किन सीसी क्यामेरा लगायो, त्यसको बारेमा भने खोजी हुनुपर्ने जस्तो लाग्यो ।

नेपाली कांग्रेस हुम्लाका नेता जीवनबहादुर शाही केही दिनअघि त्यहाँ पुगेका रहेछन् । उनैको भनाइका आधारमा समाचारमा झुठ कुरा यसरी फैल्याइएको देखियो । हामी भने बाटोमा समचार हेर्दै जाँदै थियौं । जीवनबहादुर शाहीले चीनले सीमाना मिच्यो र ११ नम्बरको पिलर पनि गायव पार्‍यो भनेका रहेछन् ।

त्यसैको भोलिपल्ट अर्थात् असोज ७ गते गृहमन्त्रालयले तथ्य दिन भनेपछि प्रजिअले माफी मागेका थिए । त्यो समाचार पनि हामी हाल्जी गाउँमा पुग्दा वडाध्यक्षको कक्षमा भएको वाइफाइको सहयोगमा हेरेका थियौं ।

खासमा ११ नम्बर पिलर १२ नम्बर पिलरबाट ३५ किलोमिटर तल देखाइरहेको थियो । हामीभन्दा अगाडि आएको टोलीले आफूलाई चिनियाँ सुरक्षाकर्मीले केरकार गरेको कुरा गरेका थिए । त्यसैले हामी सजग भएका थियौं । हामीले त्यहाँ झण्डै दुई घन्टा बितायौं । तर, त्यस्तो केरकार केही भएन । उनीहरू हामीलाई देखिरहेका थिए र हामी पनि उनीहरूलाई देखिरहेका थियौं । ११ नम्बर पिलरबारे नक्सामात्र हेरे पनि पुग्नेमा उनीहरू यसरी हावाको भरमा प्रोपोगाण्डा चलाइरहेका थिए भन्ने पुष्टी हुन्छ ।

आखिर हुँदै नभएको विषयमा किन विवाद भनेर समाचार बन्दैछन् ? मिडिया अनि कांग्रेसका नेता विमलेन्द्र निधि र जीवनबहादुर शाही जुन-जुन समय भारत र नेपालको सीमानाको कुरा उठ्छ तब-तब त्यही तयार पारिएको कागज बोकेर किन हिँड्छन् ? अनि त्यसलाई साथ दिँदै कांग्रेस नेता किन बोल्छन् ? यसले उनीहरुको नियतबारे आशंका पैदा हुन्छ ।

एकजना पत्रकारले नाम नबताउँने सर्तमा भने- यो २०७७ सालको शुरू-शुरूको समय थियो । एउटा गज्जबको समाचार दिन्छु भनेर मलाई एकजना मान्छेले बोलाए । कृषिमन्त्रायल नापी विभागले अध्ययन गरेको भनेर उत्तरी सिमानामा चीनले फलानो-फलानो ठाउँमा सिमाना मिचेको भन्ने कागज मलाई थमाए । मलाई पहिला त गज्जबकै कुरा पाएँ भन्ने लाग्यो । तर, नापी या गृहले हेर्नुपर्ने कुरा कसरी कृषि मन्त्रालयको नाम छ ? प्रश्न उब्जियो । नापी विभागदेखि परराष्ट्र मन्त्रालयसम्म सोधेपछि त्यो फेक हो भन्ने लागेर समाचार बनाइनँ । तर, त्यसको केही दिनपछि नागरिकमा र अझपछि कान्तिपुरमा प्रमुख समाचार बनाएर छापियो । मलाई दिइएको कागज नै उनीहरुको समाचारको स्रोत थियो । त्यही पाना जस्ताको त्यस्तै हालेर ठूला भनिएकाहरूले पालैपालो छापे । तर, यो खोटा कागज थियो ।

खासमा यो एउटै कागज त्यतिबेला निकालिन्छ जब भारतले मिचेको नेपाली भू-भागबारे नेपालमा प्रश्न उठ्छ । फेरि तिनै तिनै पत्रिकामा दोहोर्‍याएर त्यही समाचार छपाइन्छ । यस्तो समाचारको तयारी पहिले नै गरिएको हुन्छ । यो कागज पहिलोपटक हामी भूकम्पमा थलिएर भारतले नाकाबन्दी गरेको बेला निकालिएको थियो । जतिबेला चीन र भारतले लिपुलेकलाई बाटो बनाएर व्यापार गर्ने सम्झौता भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शार्मा ओलीले लिपुलेक र कालापानी नेपालको भएको दावी गरेको थिए । त्यसताका पहिलोपटक नेपालको भूमि चीनले मिचेको भन्दै यो कागज बाहिर निकालिएको थियो । फेरि अर्को समय जब नेपालले लिपुलेकसहितको चुच्चे नक्सा जारी गर्‍यो, तब निकालियो । आज फेरि भारतीय एसएसबीले तुइन काटेर नेपाली युवकलाई नदीमा बगाएको समाचार र अमेरिकी सहयोगको परियोजना एमसीसीको बारेमा कुरा उठिरहेको छ, यहीं बेला फेरि ती मुद्दा ओझेलमा पार्न र काम सल्टाउन यो विषय उठाइएको बुझ्न सकिन्छ ।

एकपटक होइन, पटक-पटक यो प्रोपोगाण्डा हो भन्ने प्रमाणित भैसकेपछि पनि पुन उठाइरहनु या मिडियामा स्थान पाइरहनुले नेता मात्र होइन, केही मिडिया पनि यो प्रोपोगाण्डामा संलग्न छन् भन्ने पुष्टी गर्छ ।

नेपाल-चीनबीच सिमानासम्बन्धी अध्ययन गर्न बनेको समितिले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई प्रतिवेदन बुझाएको थियो । त्यस प्रतिवेदनले नेपाल र चीनबीच कतै पनि सीमा विवाद नभएको जनाएको थियो ।

अतिक्रमणकारी छिमेकीलाई आफ्नो देशमाथि हस्तक्षेपको वातावरण बनाउन, सीमासम्बन्धी कुनै समस्या नभएको छिमेकीविरुद्ध झुठा कुरा ल्याएर उसलाई उत्तेजित पार्न खोज्नु गम्भीर कुरा हो । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा अहिले पनि भनिरहेका छन्- उहिल्यै होइन रहेछ भनेको कुरामा खै के विवाद र केका लागि समिति गठन ?

लिमी लाप्चाको त्यस बाटोको अर्को सामरिक विषय पनि छ । लिमीबासीलाई आवतजावत र खाद्यान्न आपूर्तीमा हिल्सा नाका टाढा पर्ने र आपूर्तिमा कठिनाइ भएपछि २०५८ मा डेढलाख रुपैयाँ खर्चेर उक्त नाकाबाट बाटो खोल्ने काम भयो । पछि २०६७ सालमा छक्कबहादुर लामा र तत्कालीन सांसद कर्णजित बुढाको सक्रियातामा यस क्षेत्रको बाटो अझ विस्तार भयो । जसमा कोदारी राजमार्ग हुँदै ल्याइएको डोजर लगेर थप काम गरिएको थियो ।

सांसद् छक्कबहादुर लामाका अनुसार त्यस क्षेत्रका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव एवं विदेश मामला तथा पर्यटन क्षेत्र हेर्ने तेन्जीन नुर्बुलगायत तिब्बतको पुराङ काउन्टीका अन्य सरकारी निकायका अधिकारीहरुको सहयोगमा नै सो बाटो खोलिएको थियो ।

यहाँ बाटो बनाएपछि नाम्खा गाउँपालिकाका मान्छेलाई खाद्यान्न ओसारपसार गर्ने ठाउँ भयो । त्यतिमात्र होइन, यहाँबाट मानसरोवर सजिलै देखिने भएपछि हुम्लाबासीहरू यहाँबाट कैलाशको दर्शन गर्न आउन थाले । यहाँ हिउँ नभएको मौसममा त निक्कै बाक्लो तीर्थयात्रा हुन थाल्यो । केही पछि त हुम्लाबाट तिब्बतमा जानजस्तो झन्झट खप्नु नपर्ने, भिसा समस्या र रोयल्टी तिर्नु नपर्ने भएपछि भारतीय पर्यटक पनि आउन थाले । नेपाल घुस्ने, हेलिकप्टर लिएर पुगिहाल्ने र सिमानाभन्दा उता गएर फोटो खिच्ने, ड्रोन उडाउने गरेपछि चीनले सुरक्षाको कारण देखाउँदै यस ठाउँमा वीओपी बनायो ।

आफ्नो त्यही ठाउँमा ठूलो भू-भाग ओगटेर चीनले विस्तारै भन्सार भवन बनायो । त्यही संरचना अहिले विस्तार गर्दा त्यसैलाई नेपाली भूमि मिचेर भवन बनाएको भन्ने प्रचार भइरहेको छ । छक्कबहादुर लामाले भने- यो भवन २०६७ सालमा बाटो खनेपछि नै बनेको हो, अहिले यसको विस्तार गरेर निक्कै ठूलो भवन बनाइएको छ ।

१२ नम्बर पिलर हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ स्थित लिमी भ्याली र नाम्खा गाउँपालिकामा पर्छ । त्यस वडाका वडाध्यक्ष पाल्जोर तामाङ र नाम्खा गाउँपलिकाका अध्यक्ष लामा पनि साथैमा थिए, जसले १२ नम्बर पिलर नजिकै पानीढलो भएर लिमीबाट चीनतिर जाने बाटो खनेका थिए ।

उनीहरूले भने, ‘बाटो खन्दा त हामीले सीमानाबाट चार किलोमिटर उतासम्म खनेका रहेछौं । त्यो बेला कहाँसम्म हाम्रो सिमाना भनेर कसैले भनेन, अनि उताबाट पनि कुनै अवरोध आएन । उनीहरू पनि हाम्रोमा आउँथे, हाम्रा पनि चौरी लिएर उतैसम्म जान्थे । कहाँसम्म हाम्रो हो भन्ने पनि थाहा भएन । पछि बाटो खन्यौं र हाम्रा गाउँमा चाहिने समान यही बाटो गरेर ओसारपसार हुनलाग्यो । तब चीनले आफ्नो सीमाना जोगाएर भवन बनायो । यो भवन बनाएपछि मात्र हामीले हाम्रो भूभाग कति रहेछ भनेर खोज्यौं । नभन्दै हाम्रो त सिमाना यहीँबाट यतामात्र रहेछ ।’

भोगचलनको हिसावले यस विषयमा लिमीबासीभन्दा जानकार अर्को कोही हुनै सक्दैन ।

यही भू-भागमा सडक बनाउने त्यस ढलो छेउको दलदलमा धेरै माटो भरेको सडक निर्माता मंगल लामाको अनुभव छ । बाटो बनाउन चीनले तेल र स्काभेटर ल्याउन चीनले सहयोग गरेको थियो । त्यसको पहल गर्ने स्वयं छक्कबहादुर लामा हुन् । बाटो खन्दा चाहिने खाद्यान्न पनि चीनले उपलब्ध गराएको र आफैंले बोकेर ल्याएको उनीहरु सुनाउँछन् ।

हिमाली वन्यजन्तुको लागि हिउँदमा चीनतिर राम्रो र बर्खामा नेपालतिर राम्रो हुने हुँदा उताका यता र यताका उता आउने जाने सामान्य प्रक्रिया हुन्थ्यो ।

कति ठाउँमा अहिले पनि उनीहरू खर्क बस्न आउँछन् । नेपालको यारी र ह्याङ्सीमा तिब्बतको पुराङका सेर र काङजी गाउँका मान्छेहरू अहिले पनि बर्खामा खर्क बस्न आइरहेका छन् ।

नेपालका लिमीबासीले चीनको लोतालिङ भन्ने हिउँदे चरन क्षेत्र प्रयोग गर्दै आएका थिए । यो नाका हुम्लाको तिब्बतसँग जोडिएको सबै नाकाभन्दा पुरानो पनि हो । पछि यसको विकल्पमा सुरक्षाको कारण देखाउँदै चिनियाँ पक्षले ताक्लाकोट नाकालाई बढी जोड दिँदै हिल्सा सिमिकोट बाटो खुलाएको थियो ।

त्यसबेला हुम्लाको मेरो यात्रा निजी नै थियो । संयोगवश यतिबेला नेपाल चीनबीच कृत्रिम सीमा विवाद खडा भएको छ । दुईदेशीय सम्बन्धमा प्रश्न उठाइएको आजको सन्दर्भमा मेरो यात्राको त्यो संयोग एउटा सन्दर्भ सामग्री बन्न पुग्यो । कृत्रिमता राजनीतिमा कसरी मसला बन्न सक्छन् भनेर जान्न खोज्नेहरूका लागि मैले आफ्नो यत्रा विवरणको अंश यहाँ प्रस्तुत गरेको हुँ ।

Comments

5 responses to “चीनसँग सीमा विवादको प्रोपोगाण्डालाई गिज्याइरहेको यो १२ नम्बर पिलर”

  1. Kiran Deuja Avatar
    Kiran Deuja

    Thank you Bini ji for important information with evidence .

  2. SR Shrama Avatar
    SR Shrama

    You have cleared many misconceptions . We need straight forward jounos like you.
    Please accept my kind appreciation madam !

  3. Dinesh Nepali Avatar
    Dinesh Nepali

    भारतले आफ्नो जनतालाई तुइन काटेर मार्दा पनि बोल्न नसक्ने पाच टाउके भातमारा भारतीय दलाल हरुको comfortable सरकारले ध्यान अन्त तिर मोड्न अनि भारतीय मालिकलाइ खुशी बनाउनको लागि मात्र हो यो नौटंकी !!!!! तर पनि……………….. भारत जस्तै चिन पनि कम धुर्त छैन !!! कहिले नेपाली भूभाग हडपेको छ, कहिले नाकाबन्दी !!! भुइचालोले थिल थिल भएको बेला नेपालको भूभाग लिम्पियाधुरा लिपुलेक हडपेर बसेको भारत संग चिनले तेही नेपाली भूभाग हुदै ब्यापार गर्न सम्झौता गरेर त्यो कुकर्मलाई मान्याता दिएको छ !! अहिले पनि चिनले आफ्नो पट्टि खुला गर्देन भने भारतले चाहेर मात्र केहि गर्ने सक्दैन !! —– – भारत दुस्ट भन्ने धेरैलाई थाहा छ, तर चिन पनि कम छैन भन्ने कुरा धेरैलाई थाहा छैन !!!!!! बिगतको मुख्यतया सुगौली सन्धि ताका चिन ले दिएको धोका, राजा ज्ञानेद्रलाइ दिएय्को धोका, नेपालको हुम्ला लगाएत केहि ठाउमा गरेको अबैध कब्जा, नेपाललाइ मतलब नगरी भारत संग गरेको अबैध ब्यापार सन्धि, आफैले पनि नेपालको भनेर स्वीकारिसकेको सगरमाथालाइ अहिले आएर दाबि गर्दै बिबादित बनाउने प्रयास आदि जस्ता कुराहरु थाहा नभएका हरुलाई केहिपनि थाहा छैन !!
    —-नेपाली सिमाना र अर्थतन्त्र जोगाउने बिषयमा भारत र चिन रुपी दुइटा दुस्ट ब्वासाहरुको कडा भन्दा कडा बिरोध गर्ने पर्छ !!! यिनीहरुसंग युद्ध गरेर जित्न तुरुन्त नसकेपनि आफ्नो दाबि र अडान सधै राखिरहन पर्छ !! बोल्न पनि डरायो भने अझै पेल्छन !!!! हामि आफु बलियो र आत्मनिर्भर नबने सम्म यिनीहरुले हामीलाई पेलिनै रहन्छन !! तेही भएर यिनीहरुले देलान र खाउला भनेर बस्नु आफ्नै मुर्खता हो — मुख्यगरि नेपालका राजनैतिक दलहरु भारतीय (मुख्यतया मदेसी, कांग्रेस र मावोबादी ) र चिनिया(मुक्यतया आफुलाई कम्निस्ट भन्ने हरु , मावोबादी सहित ) अनि पश्चिमा दलाली गर्न बन्द गर्दै नेपालबादी बन्न पर्छ !!!! हाम्रो विदेश नीति कुनै अमुक देश को पिछलग्गु भन्दा पनि नेपाललाई जे गर्दा फाइदा हुन्छ तेही हुनुपर्छ, नेपालबादी हुनुपर्छ!! सरकार परिवर्तन संगै मुख्य नीति अनि विदेशनीति नै परिवर्तन हुने अहिलेको परिपाटी अन्त हुनुपर्छ !!!!!!!!!————–सबैभन्दा ठुलो कुरा —- आफ्नै देशमा आलोचित गान्धी, अम्बेडकर, मावो, लेनिन जस्ताहरुलाई पुजा गर्ने, जन्मजयन्ती मनाउने तर नेपाल एकीकरणकर्तालाइ सराप्दै हिड्ने, सालिकजति सबै तोड्ने, पृथ्बी जयन्तिको सार्वजनिक बिदा समेत काट्ने बिदेशी दलाल अनि गद्दार हरुलाइ नेपाली हरुले कहिले चिन्ने ????
    नेपाल आफु बलियो अनि स्वतन्त्र बन्नु पर्छ, अर्थतन्त्र आत्मनिर्भर बनाउनु पर्छ !! नेपालीहरु देशभक्त रास्ट्रबादी नेपालबादी बन्नु पर्छ !!! यि दुइ दुस्ट ब्वासा जस्ता छिमेकीले अनि अरु बिदेशी हरुले पनि अन्याय गर्दा हरेक नेपालीले आवाज उठाउन पर्छ !!!!!!!!!!
    भारतीय र चिनिया बिस्तारबाद, मुर्दाबाद !!!!!!!!!!!!!
    जय नेपाल, जय नेपाली

  4. Dinesh Nepali Avatar
    Dinesh Nepali

    बिनु जी, तपाई हरुले सुन्न चाहेको कमेन्ट मात्र प्रकाशित गर्नु हुदो रहेछ !!!! म फेरी पनि भन्छु, केहि न केहि गडबडी पक्कै छ !!! हो, यो comfortable सरकारले गरेको चिन सिमा छानबिन आयोग भारतलाई खुशी बनाउनको लागि मात्र हो, राम्रो उद्देस्यले हैन !!!! तरपनि——– भारत जत्तिकै दुस्ट नभएपनि चिनले हामीलाई निवार्थ माया गर्छ भन्ने सोच्नु आफ्नै मुर्खता हो !!! उ पनि कम धुर्त छैन !!! धेरै टाढा जानु पर्दैन, भुइचालोले थिल थिल भएको बेला नेपालको भूभाग लिम्पियाधुरा लिपुलेक हडपेर बसेको दुस्ट देश भारत संग चिनले तेही नेपाली भूभाग हुदै ब्यापार गर्न सम्झौता गरेर त्यो कुकर्मलाई मान्याता दिएको छ !! त्यो बाट पनि प्रस्ट हुन्छ उसको स्वार्थ बढी हेर्छ चीनले पनि !!!! ——————— हजुरले भनेको सबै कुरा माने पनि मेरो एउटा प्रस्न छ—- १९६५ तिर देखि यता सम्झौता भएपनि सिमाना चलाएको छैन भन्छ चीनले !!! तर माथिको फोटोमा पनि देखिन्छ, त्यो सीमास्तम्भ तेती पुरानो हुदै हैन, हुने सक्दैन !!! त्यो कसले बनायो ??? नेपाललाइ थाहा नदिई अन्तरास्ट्रिय सिमानामा नया बनाउने, सार्ने गर्न पाईन्छ ?????????????? केहि न केहि गडबडी पक्कै छ !!! तेसैले निस्पक्ष छानबिन गर्दा देशलाई बेफाइदा हुदैन !!! देश बिरोधि कुरा छ, अन्याय भएको छ भने भारत मात्र हैन, जुनसुकै देशको पनि बिरोध गर्ने आट गर्न पर्छ !!! नेपालले पनि आफ्नो स्वार्थलाई बढी महत्व दिनुपर्छ !!!! नेपालबादी बन्नु पर्छ !!!!!!!!!!!!! जय नेपाल, जय नेपाली

  5. विश्वप्रकाश सुवेदी Avatar
    विश्वप्रकाश सुवेदी

    आधारहीन कुराका पिछा परेर कूटनीतिक मर्यादाको पर्खाल कित चरमराउने गरी हल्लाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *