सिन्धु एमाले लयमा फर्केपछि बलेफीका २ सय कांग्रेस कार्यकर्ताको पार्टी प्रवेश

सिन्धुपाल्चोक । आन्तरिक विवादका कारण पछिल्लो समय ठप्प रहेको एमाले सिन्धुपाल्चोकको सांगठनिक गतिविधिले विस्तार लय लिन थालेको छ ।

पार्टी केन्द्रले विवादहरु सुल्झाउदै २०७५ जेठ २ अघिको पार्टीका सबै संरचना अगाडि बढाउने निर्णय गरेपछि हौसिएका एमालेका नेताहरु यतिबेला पार्टीको आन्तरिक भेला, बैठक र छलफलमा केन्द्रीत हुन थालेका छन् ।

सिन्धुपाल्चोक एमाले अहिले राजधानीमा रहेका सिन्धुपाल्चोकका कार्यकर्तामार्फत् संगठानिक गतिविधिमा फर्किएको हो । पार्टी केन्द्र, प्रदेश र जिल्ला तहका सबै नेताहरुको सहभागितामा नेकपा एमाले बलेफी–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा आइतबार काठमाडौं बृहद् पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा बलेफी गाउँपालिकाका विभिन्न वडाबाट नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी २ सय बढी एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण क्षेत्रीले जानकारी दिए । बलेफी गाउँपालिकाका शेरबहादुर तामाङ(शेरे), रेशम लामा(दोर्जे) र रितेश तामाङ(ल्याक्टे)को नेतृत्वमा २ सय बढी युवाहरु एमालेमा प्रवेश गरेका थिए ।

अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई एमाले पोलिट्ब्युरो सदस्य अरुण नेपाल, लेखा आयोगका पूर्वसदस्य सरेश नेपाल, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री, जिल्ला अध्यक्ष झम्क नेपाल लगायतले खादा र अबीर लगाएर एमालेमा स्वागत गरेका थिए ।

नेपाली कांग्रेस र माओवादी पार्टीले गाउँ विकास नगरेको र बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीको नेतृत्वमा एमाले बलेफी गाउँपालिकामा जितेपछि धेरै विकास निर्माणका कामहरु गरेकाले आफूहरु एमालेमा प्रवेश गरेको कांग्रेस परित्याग गरेका रेशम लामा(दोर्जे)ले बताए ।

पार्टी प्रवेश कार्यक्रममा एमाले वागमती प्रदेश कमिटीका सदस्य एवम बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले समग्र बलेफी गाउँपालिकाको विकासका लागि एमालेको नेतृत्वमा धेरै विकासका कामहरु अघि बढेको जानकारी दिए ।

‘हामी गाउँपालिकाको नेतृत्वमा आएपछि वडासम्म जाने सबै सडकहरु कालोपत्रे सुरुवात गरेका छौं’, अध्यक्ष क्षेत्रीले भने, ‘बाँकी समयमा अझै धेरै काम गर्ने छौ ।’ एमाले एक ढिक्का भएपछि बलेफी गाउँपालिका पुनः एमालेको गढ भएको अध्यक्ष क्षेत्रीले दाबी गरे ।

निर्वाचन आयोगले भदौ २२ सम्म दल रोज्ने समयसीमा दिएको र त्यसपछि पार्टीका गतिविधिहरु जिल्ला केन्द्रित गर्ने बताउँछन्, एमाले सिन्धुपाल्चोकका सचिव कमल नेपाल ।

वागमती प्रदेशका सांसद एवम् एमाले लेखा आयोगका पूर्वसदस्य सरेश नेपालले नेकपा एमाले मात्रै देशको विकास गर्ने पार्टी भएकाले सबै एमालेमा गोलबद्ध हुन पर्नेमा जोड दिए । एमालेले वागमती प्रदेशको नेतृत्व गर्दा सिन्धुपाल्चोकमा अहिलेसम्मकै विकासमा बढी बजेट बठाएको उनले बताए । बहुदलपछि सबैभन्दा बढी विकासका अभियानहरु गएको तीन वर्षमा भएको नेता नेपालको दावी छ ।

त्यस्तै एमाले पोलिट्ब्युरो सदस्य अरुण नेपालले पार्टी भित्रका विवाद समाधान भएकाले अब सबै नेता कार्यकर्ताहरु पार्टीको काममा लाग्नका लागि आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *