दिल्लीबाट आउँदा आउँदै झलनाथले ल्हारक्याललाई किन दिए विशेष धन्यवाद ?

काठमाडौं । केही वर्षयता गुमनाम जस्तै रहेका नेपाली राजनीतिका कुनै समयका चर्चित पात्र डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) लाई पूर्वप्रधानमन्त्री तथा नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाट फर्केलगत्तै विशेष धन्यवाद दिएपछि उनको भूमिकाको खोजी हुन थालेको छ ।

एमालेको वरिष्ठ नेताका रूपमा दिल्ली गएका खनाल मिर्गौला प्रत्यारोपण गरेर फर्किँदा नेकपा एसको वरिष्ठ नेता बनिसकेका थिए । उनले विमानस्थलमै माधव नेपालसहितका नेताहरू राखेर गरेको पत्रकार सम्मेलनमा डा. ल्हारक्याल लामालाई सम्झिए ।

खनालको विज्ञप्तिमा भनिएको छ, ‘म सँगसँगै एपोलो हस्पिटल पुगेर मेरो उपचारमा विशेष सहयोग गर्नुहुने डा. ल्हारक्याललाई लामालाई पनि विशेष धन्यवाद दिन चाहान्छु ।’

आफूलाई उपचार खर्च प्रदान गर्ने प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र गठबन्धनका नेताहरूकै लहरमा राखेर खनालले ल्हारक्याललाई किन विशेष धन्यवाद दिए ?

नेपाल प्रेसको प्रश्नमा लामाले भने, ‘मैले उहाँलाई उपचार तथा व्यवस्थापनमा सहयोग गरेको हुनाले नाम लिनुभयो होला । उहाँलाई दिल्ली लैजादा दुवै पटक म थिएँ । मेरो लागि उहाँ सधैं सम्मानित र आदरणीय नेता हो । मैले सकेको सहयोग र समन्वय सबै नेताको लागि गर्छु । कमरेड प्रचण्ड र झलनाथ खनाल त मेरो अभिभावक नै हो ।’

खनाल पहिलोपटक दिल्लीमा उपचारका लागि जाँदा लामा एक महिना उतै बसेका थिए । दोस्रोपटक यसपाली लैजान पनि ३४ दिनसम्म उनी दिल्लीमा थिए । पछिल्लो राजनीतिक घटनाक्रमपछि उनी नेपाल फर्किएका हुन् ।

स्रोतका अनुसार खनालको उपचारको व्यवस्थापनमा सघाउन प्रचण्डले डा. लामालाई आग्रह गरेका थिए । प्रचण्डले भनेरै उनी खनालको उपचारको प्रबन्ध मिलाउन पहिले नै दिल्ली गएका थिए ।

धेरैले बिर्सिसकेका र नयाँ पुस्ताले थाहा नपाएका ल्हारक्याल लामा अहिले नेकपा माओवादी केन्द्रसँग छन् । उनी माओवादी अध्यक्ष प्रचण्डका विशेष सहयोगीमात्र होइन भित्र र बाहिरका सूचना प्रचण्डसम्म पुर्‍याउने र रणनीतिक महत्वका विषयमा सहल्ला दिने हैसियतमा उनी खुमलटारको किचनसम्म पहुँच राख्छन् ।

झलनाथ खनालसँग भने उनको पुरानो र विशेष सम्बन्ध छ । खनाल प्रधानमन्त्री भएका बेला डा. ल्हारक्याललाई उनले अर्थ राज्यमन्त्री बनाएका थिए । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको अन्तर्गत उनी थिए ।

तर, ल्हारक्याल राज्यमन्त्री नियुक्त भएलगत्तै उनको दोहोरो नागरिकता रहेको भनेर विवाद सिर्जना गरियो । खासगरी तत्कालीन एमालेभित्र अध्यक्ष खनालकै गुटका कतिपय नेताहरुले डा. ल्हारक्याल अघि बढेको रुचाइरहेका थिएनन् । उनीहरू र केही मिडियाको कोपभाजनमा परेर उनले राजीनामा दिए ।

उनी दोस्रो संविधानसभा निर्वाचन अगाडि एमाले छाडेर माओवादीमा प्रवेश गरे । माओवादीबाट उनी समानुपातिकतर्फ सांसद पनि भए । सांसद भएका बेला उनलाई मुद्दा मामिलामा फसाउन खोजिएको थियो । नेकपा एकीकरणका बेला उनले प्रचण्डलाई एमालेसँग एकता गर्न नहातरिन सुझाव दिएका थिए ।

डा. ल्हारक्यालको तर्क थियो- ‘एमाले ब्युरोक्रेटिक संरचना भएको पार्टी हो । यसमा जति गुट भए पनि एमालेको वडा तहको कार्यकर्ताले पनि माओवादीलाई नेता मान्न चाहदैनन् । गठबन्धनबाटै अघि बढौं, केपी ओलीले धोखा दिन्छन् ।’

नेकपा एकतापछि प्रायः देश र विदेश बराबर ओहोर-दोहोर गरिरहेका उनी प्रचण्डको अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र विस्तारमा भने क्रियाशील थिए । प्रचण्डले उनलाई बुद्धलाई मान्ने कुनै देशको राजदूत बनाउन आग्रह गरे पनि ओलीले मानेका थिएनन् ।

सिन्धुपाल्चोक हेलम्बुका डा. लामा एमाले नेता अमृत बोहरा र अष्टलक्ष्मी शाक्यका पनि निकटस्थ मानिन्छन् । उनले अष्टलक्ष्मीलाई मुख्यमन्त्रीबाट तत्काल नहटाउन समेत प्रचण्डलगायतका नेताहरूलाई सुझाव दिएको बताइन्छ ।

 

Comments

6 responses to “दिल्लीबाट आउँदा आउँदै झलनाथले ल्हारक्याललाई किन दिए विशेष धन्यवाद ?”

  1. Shubha Raj Pokharel Avatar
    Shubha Raj Pokharel

    लज्जास्पद दुरावस्था :
    डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) जस्तै सिमित व्यापारी र आर्थिक चलखेल गर्ने व्यक्तिहरुको आर्थिक प्रलोभनमा रमाउने नेपाली राजनीतिक नेतृत्व र उनीहरुकै डिजाईन, निर्देशन र भरोसामा अगाडि बढेको नेपालको राजनीति ।

  2. प्रशन्न Avatar
    प्रशन्न

    राम्रो छ, डा्क्टर ल्हारक्याल, अक्सिजन मन्त्रि प्रेम अालेज्यू चाहियाे नि अव नयाँ नेक्पा एसलाइ

    1. bhumiraj adhikari Avatar
      bhumiraj adhikari

      सधै, सबैका धन्यवादका प्रीय पात्र आदरणीय नेता तथा पुर्वमन्त्री डा. ल्यारक्याल लामा शन्ति, सद्भाव र सुदचारको सत्मार्गमा सलाम!

  3. parbati khadka Avatar
    parbati khadka

    प्रेरक यस्ता धेरै राम्रो काम गर्नुभएको छ गुरुले। साधुवाद अनि नमन गुरु….

  4. Bhumiraj adhikari. Avatar
    Bhumiraj adhikari.

    सधै, सबैका धन्यवादका प्रीय पात्र आदरणीय नेता तथा पुर्वमन्त्री Pratham Yolmo Khenpo, शान्ति, सद्भाव र सुदचारको सत्मार्गमा सलाम!!

  5. Bhumiraj adhikari Avatar
    Bhumiraj adhikari

    सधै, सबैका धन्यवादका प्रीय पात्र आदरणीय नेता तथा पुर्वमन्त्री Pratham Yolmo Khenpo, शान्ति, सद्भाव र सुदचारको सत्मार्गमा सलाम साथै नेपाली जनताका अाषा र भराेशायाेग्य नेता ,जनताल र देशले चाहेकाे राजनेता अादरणिय ब्यक्तित्व !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *