पाटनको कृष्ण मन्दिरमा भक्तजनलाई रोक लगाइने

ललितपुर । पाटनको कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीको दिन (भोलि) भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ ।

हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सोमबार सर्वसाधारणलाई मन्दिर छिर्न नदिने भएको हो ।

यो वर्ष पनि गत वर्ष झैँ कोभिड सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए। उनले भने, ‘आवश्यक अनि सीमित व्यक्ति बसेर भगवान्को पूजापाठ आदि कर्म गर्नेछौं ।’मन्दिर दिनभरि खुला रहन्छ तर मानिसलाई भने भित्र छिर्न नदिने उनको भनाइ छ ।

यही भदौ १ गते ललितपुरका विभिन्न गुठी तथा जात्रा अनि पर्व चलाउने व्यक्तिसँग बसी यो वर्ष आउँदा पर्वमा मात्र विधि गर्ने छलफल भइसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। उनले भने, ‘रोगको ख्याल गरी कहीँकतै भीड हुन दिने छैनौं ।’

सोमबार मनाइने कृष्ण पर्व साङ्केतिकरुपमा मात्र अघि बढाउने कुरामा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए। साँझ परेपछि गुठीबाट बत्ती लगेर बाल्ने र घुइँचो नगर्ने भएको संस्थान कार्यालय ललितपुर शाखाका प्रमुख खिमा वलीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *