पार्टीमा तेजिलो गति पैदा गर्न मुख्यमन्त्री पद ‘सेक्रिफाइस’ गरेँ : शेरधन राई

काठमाडौं । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले पार्टी हितका लागि आफूले ‘सेक्रिफाइस’ गरेको बताएका छन् । मुख्यमन्त्रीबाट हटेपछि सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै पार्टीभित्र एकताका क्रममा भएको १० बुँदे सहमतिसमेतलाई ध्यानमा राखेर पद त्यागेको प्रष्ट पारेका हुन् ।

पार्टी र पार्टी नेतृत्वको पूर्ण विश्वास एवं साथ र समर्थनका साथ आफूले नेतृत्व गरेको दलमा पुर्ण बहुमत रहँदा रहँदै राजीनामा गरेको राईको दावी छ ।

‘देशको राजनीतिक परिस्थिति, पार्टीभित्र देखा परेको विग्रह, टुटफुट अनि त्यसको प्रभाव र असरबाट प्रदेश नं. १ मा नेकपा एमालेलाई क्षति पुग्न नदिन, देश प्रदेशमा अराजकता र अस्थिरता पैसदा नहोस भनेर तथा १० बुँदेलाई अक्षरशः पालना गर्न गराउनका लागि एकमुष्ट तेजिलो गति पैदा हुन सकोस भनेर त्यस मूल्यमा सेक्रिफाइस स्वरुप मैले राजीनामा गरेको छु ।’ उनले लेखेका छन् ।

आफ्नै प्रस्तावमा दलको नेता र दोस्रो मुख्यमन्त्रीका रुपमा भीम आचार्य चयन भएको भन्दै उनले बधाई र शुभकामना समेत दिएका छन् । संघीयताको पहिलो अनुभव, अध्यास र प्रयोगका सुरुवाति दिनहरु, वर्षहरु सजिला नभए पनि दृढ संकल्प र अठोटसहित महत्वपूर्ण उपलब्धी र सफलताहरुका साथ अगाडि बढेको राईको दावी छ ।

‘मलाई गर्व छ, धेरै गर्न सकिनँ होला, तर गलत गरेको छैन,’ राईले भनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *