राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने एकिकृत समाजवादीको तयारी, चन्द्रागिरीबाट भोलि सिधै आयोग जाने

काठमाडौं । प्रस्तावित नेकपा (एकिकृत समाजवादी)ले निर्वाचन आयोगमा पार्टी दर्ता भएको १० दिन भित्र राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

चन्द्रागिरी रिसोर्टमा दुई दिन अघि शुरु भइ सोमबार अबेर सकिएको केन्द्रीय कमिटी बैठकले १० दिन भित्र राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीले जनाकारी दिए।

‘१० दिन भित्र राष्ट्रिय भेला÷सम्मेलन बोलाउँछौं,’ उनले नेपाल प्रेसँग भने, ‘त्यसपछि तुरुन्तै महाधिवेशन पनि गर्छौं ।’ प्रस्तावित विधानमा व्यवस्था भए अनुसारको पदाधिकारी पनि राष्ट्रिय सम्मेलनबाटै चयन हुने चौधरीको भनाइ छ।

बैठकमा एकिकृत समाजवादीको अन्तरिम विधान, घोषणा पत्र र नियमावली पेस भएको थियो । तीन वटै दस्तावेजमा हिजो र आज गरि दुई दिन समूहगत छलफल भएको थियो । छलफलबाट केही सामान्य सुझाव आएको र त्यसै अनुसार केही सच्याएर भोलि निर्वाचन आयोगमा पेश गरिने छ।

‘बैठकमा पेश भएका दस्तावेज निर्वाचन आयोगलाई चाहिने पु¥याउने प्रस्तावित दस्तावेज मात्रै हुन,’ चौधरीले भने, ‘यसमा केही सुझाव प्राप्त भयो । केही सामान्य ‘करेक्सन’पछि हामी यी सबै भोलि निर्वाचन आयोगमा बुझाउँछौं ।’

आएका सुझावलाई माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालले दस्तावेजिकरण गर्ने छन् । त्यसमा प्रमेश हमाल र बिजय पौडेलले सहयोग गर्ने छन् ।

बैठकमा दिल्लीबाट वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका थिए । समापन सम्बोधनमा माधव नेपालले नयाँ पार्टी गठन गर्नुको औचित्यबारे धारणा राखेका थिए।

‘केपी ओलीले योजानवद्ध रुपमा बिर्सजन गर्न थालेको कम्युनिष्ट आन्दोलनलाई फेरि पुनःस्थापित गर्ने दायित्व हाम्रो रह्यो,’ नेपालको भनाइ थियो, ‘यदि हामीले यो नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलन ‘कोल्याप्स’ हुन्थ्यो । त्यही कारण नेकपा (एकिकृत समाजवादी) बनाएका हौं ।’

नयाँ पार्टीको दर्ता सनाखत गर्न निर्वाच आयोगले भोलि बोलाएको छ । एकिकृत समाजवादीका केन्द्रीय सदस्य र सांसदहरु चन्द्रागिरी रिसोर्टबाट भोलि सिधै निर्वाचन आयोग जानेछन् । भोलि साढे ११ बजेदेखि ३ बजेसम्म सनाखत गर्ने समय आयोगले दिएको छ।

नयाँ पार्टी दर्ताका लागि केन्द्रीय कमिटी वा संघीय संसदीय दलमा २० प्रतिशत हुनुपर्छ । नेपाल पक्षले साविक नेकपा (एमाले)मा केन्द्रीय सदस्य रहेका ६० जना र ३१ सांसद आफ्ना पक्षमा रहेको दावी गरेको छ ।

नयाँ पार्टी दर्ताको निवेदन दिँदै ती सबैको हस्ताक्षर नभएकाले आयोगले थपिएका सबैको सनाखत भने लिने छैन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *