काठमाडौं । हाँस्यव्यंग्य टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’ अहिले चर्चामा छ । कलाक्षेत्र मात्र नभएर राजनीतिको केन्द्रमा समेत सोले चर्चा पाइरहेको छ । कारण : दलका नेताहरु आफू निकट प्रतिस्पर्धीलाई जिताउन खुलरै लागिरहेका छन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि पूर्वमन्त्रीहरु योगेश भट्टराई हुँदै बिना मगरसम्मका नेताले यो रियालिटी सोका अन्तिम पाँच प्रतिस्पर्धीका लागि भोट मागिरहेका छन् । कतिपयले नेताले भोट मागेको दृश्यले आफूहरुलाई संसदीय चुनावको झल्को गराएको बताएका छन् ।
आगामी साता कमेडी च्याम्पियनमा अन्तिम चार प्रतिस्पर्धी छनौट हुँदैैछन् । विक्की अग्रवाल सुरक्षित भैसकेका छन् भने अन्तिम चारमा प्रवेश गर्न विकास अर्याल, हिक्मत महरा, भरतमणी पौडेल र सन्तोष थापाबीच प्रतिस्पर्धा हुँदैछ ।

गत महीना एमाले नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले खुलेरै आफ्नो जिल्लाबासी प्रतिस्पर्धी भरतमणीको तर्फबाट भोट मागे । कमेडी च्याम्पियनको ताज उनले जित्ने दावी गर्दै योगेशले भरतमणीले जिते आफूलाई आनन्द महसुस हुने बताए ।
पूर्वप्रधामन्त्री बाबुराम भट्टराईले यसैसाता गृहजिल्ला गोरखाबाट प्रतिस्पर्धा गरिरहेका सन्तोष थापाले जित्ने सम्भावना रहेको भन्दै शुभकामना दिए । आफूलाई भेट्न आइपुगेका थापासँगको तस्विर पनि सेयर गर्दै भट्टराईले उनको पक्षमा भोट हाल्न समेत आग्रह गरेका छन् ।

पूर्वमन्त्री तथा एमाले नेतृ पद्मा अर्यालले पनि अर्का प्रतिस्पर्धी तथा गृहजिल्लाका विकास अर्याललालाई भोट गरेर जिताउन आग्रह गरिन् । पूर्वमन्त्री बिना मगरले पनि गृहजिल्ला कंचनपुरका कमेडियन हिक्मत महरालाई भोट गरेर जिताउन आग्रह गरिन् । आफ्ना सामाजिक संजालमार्फत नेताहरुले जिल्लावासीलाई जिताउन अपिल गरेका हुन् । कमेडी च्याम्पियनसहित अघिल्लो रियालिटी सो भ्वाइस अफ नेपालको प्रतिस्पर्धीलाई जिताउन पनि नेताहरुले भोट मागेका थिए ।
कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले जिल्लावासी प्रतिस्पर्धीलाई जिताउन नेताहरुले आफू निकट प्रतिस्पर्धीलाई जिताउन भोट माग्नुलाई स्वभाविक भएको बताउँछन् । ‘आफू निकटलाई जिताउन लाग्नु स्वभाविक हो’ उनी भन्छन्, ‘यसले कमेडी च्याम्पियनसहितको कला क्षेत्रलाई राजनीतिसँग जोड्ने काम गरिरहेको छ । यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।’
आगामी चार सातामा कमेडी च्याम्पियनको ग्रान्ड फिनालीको तयारी भैरहेको छ ।

Leave a Reply