जनगायक जेबी टुहुरे सिकिस्त, उपचार खर्च जुटाउन परिवारलाई संकट

काठमाडौं । जनगायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको छ। अचानक ‘स्ट्रोक’ भएपछि उनलाई मंगलबार बल्खुस्थित बयोधा अस्पतालको सीसीयू कक्षमा भर्ना गरिएको थियो।

मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई शल्यक्रिया गर्न जोखिमपूर्ण रहेकाले औषधीको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न वरिष्ठ न्यूरोलोजिस्ट डा. सामर्थ सिंहले वताए। टुहुरेको उपचारमा सम्भव सवै प्रयत्न जारी राखिए पनि अपेक्षाकृत सुधार हुन नसकिरहेको उनको भनाइ छ ।

टुहुरेको उपचारमा डा. सामर्थ सिंह, डा. विश्वकुमार श्रेष्ठ, डा. पावनवहादुर भण्डारी, डा. प्रकाश श्रेष्ठको चिकित्सक टोली संलग्न छन् ।

उनको स्वास्थ्य अवस्था बुझ्न बिहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका थिए । टुहुरेको उपचारको सम्पूर्ण खर्च ब्यहोर्न सरकारलाई आग्रह गर्ने प्रचण्डले बताएका थिए ।

उनलाई भेट्न एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री जनार्दन शर्मा, काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत अस्पताल पुगेका छन् । नेताहरूले सहयोग गर्ने आश्वासन दिए पनि उपचारका लागि आर्थिक अभाव भएको उनको परिवार स्रोतले बताएको छ ।

टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् । सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए ।

२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ । फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका टुहुरे छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *