इजरायलको कामदार छनौटमा लोक सेवाको परीक्षा विधि उपयोग हुने

काठमाडौं । इजरायलको कामदार छनौटमा लोक सेवाको परीक्षा विधि अपनाइने भएकाले भ्रममा नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै रोजगारीका लागि इजरायल लैजान गैरकानूनी रुपमा रकम असुल भइरहेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्रालयले केयरगिभरका रुपमा रोजगारीमा लैजाने नाममा विभिन्न गैह्रकानूनी गतिविधि भएरहेको समाचार सार्वजनिक भएको भन्दै नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौता अनुसार कामदार छनौट भइरहेको जनाएको हो । मन्त्रालयका अनुसार आवेदनमाथि मिहिन अध्ययन भइरहेको र अध्ययनपछि अन्तिम सूचीमा समावेश भएका आवेदक लिखित परीक्षामा सहभागी गराइनेछ।

लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोक सेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने र लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको अन्तर्वार्ता समेत लिइनेछ निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिपक काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले इजरायलमा नेपाली नागरिकलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने कुरामा विश्वस्त हुन पनि आग्रह गरेको छ। मन्त्रालयका अनुसार शुक्रबारसम्ममा नौ हजार ६ सय ९९ जनाको आवेदन परिसकेकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *