काठमाडौं । एमालेका ९ जना ‘मध्यमार्गी’ नेताले विभाजित पार्टीको एकताका लागि अझै आफूहरु क्रियाशील रहेको जनाएका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी सरकारद्वारा हालै जारी गरिएको दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारवाही रद्द गर्नुपर्ने माग अघि सारेका छन् ।
विज्ञप्तिमा पार्टीलाई विभाजित र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह गरिएको छ ।
‘पार्टी विभाजनले कसैको पनि हित नगर्ने भएकाले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्तारुले त्यस्तो प्रक्रिया रोकी पार्टी एकताका लागि तत्पर हुन हामी हार्दिक आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेताहरुले आफूहरुलाई एमालेको पदाधिकारीका रुपमा खुलाएका छन् । हालै बाग्मतीको मुख्यमन्त्रीमा नियुक्त भएकी नेतृ अष्टलक्ष्मी शाक्यले पनि एमाले उपाध्यक्षको हैसियतमा विज्ञप्तिमा हस्ताक्षर गरेकी छन् ।
हस्ताक्षर गर्ने अन्य नेताहरुमा उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिव भीम आचार्य, सचिव गोकर्ण विष्ट, सचिव योगेश भट्टराई, स्थाई कमिटी सदस्य सुरेन्द्र पाण्डे र स्थाइ कमिटी सदस्य रघुजी पन्त रहेका छन् ।



Leave a Reply