काठमाडौं । नेकपा एमाले औपचारिकरूपमा विभाजित भएको छ । राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजित भएको हो ।
नेपालको संयोजकत्वमा नेकपा एमाले (समाजवादी) गठन गर्न लागिएको छ । नयाँ दल दर्ताको निवेदन लिएर नेपालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

२०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भएर नेकपा माले गठन भएको थियो । २४ वर्षपछि एमालेका पूर्वमहासचिव नेपालकै नेतृत्वमा एमाले विभाजित भएको हो । अध्यक्ष केपी शर्मा ओलीसँगको निरन्तरको राजनीतिक टकरावले अब विभाजनको रूप लिएको छ ।
यद्यपि नेपालसँगै लामो राजनीतिक सहकार्य गरेका अधिकांश नेताहरूले विभाजनमा भने उनलाई साथ दिएनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, रघुजी पन्त, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरूले विभाजनमा साथ दिन नसकिने बताएका छन् ।
Leave a Reply