भिसेरा रिपोर्ट नआएको भन्दै परिवार आक्रोशित, घटनालाई जबरजस्त आत्महत्या करार गर्न खोजेको आरोप

चितवन । असार ११ गतेदेखि बेपत्ता भइ २० गते जंगलमा शव भेटिएकी चितवनकी सुजिता भण्डारीको भिसेरा रिपोर्ट नआएको भन्दै उनका परिवारले आपत्ति जनाएका छन् ।

शव भेटिएपछि असार २३ गते नै उनको भिषेरा परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला खुमलटार पठाइएको थियो । तर अझैसम्म उनको रिपोर्ट आएको छैन । प्रहरी स्रोतका अनुसार रिपोर्ट आउन अझै केही दिन लाग्नेछ ।

सुजिताका काइलो बुवा कोमलनाथ भण्डारीले पत्रकार सम्मेलन गर्दै भिसेरा रिपोर्ट ल्याउन ढिलाइ भएकोमा दुःख व्यक्त गरे । ‘भिसेरा रिपोर्ट आइपुगेको छैन, प्रहरी प्रशासनलाई पनि कहींकतैबाट दबाब परेको होला’, उनले भने, ‘अहिलेसम्म केही देख्न, सुन्न पाएका छैनौँ, राम्रो छानविन होस् ।’

५ घण्टा हिँडेर डरलाग्दो जंगलमा आत्महत्या गर्न कोही नपुग्ने भन्दै उनले आत्महत्या भनेर केसलाई भिसमिस्याउन खोजेको आरोप लगाए ।
दाजु–बहिनीबीच प्रेम सम्बन्ध भएको प्रहरी अनुसन्धानबाट देखिएपछि घटनाले नयाँ मोड लिएको थियो । झापाको झापा गाउँपालिका–६

शरणमतीका २३ वर्षीय सुकदेव भण्डारी ‘सचिन’ अहिले सुजितालाई आत्महत्या गराउन दुरुत्साहन गरेको मुद्धामा प्रहरी हिरासतमा छन् ।

सुजिता र सचिनका बुबा दाजुभाइ हुन् । सुजिताका बुबा कान्छा भाइ हुन् भने सचिनका बुबा साइलो दाजु हुन् । जिल्ला अदालत चितवनमा केही दिनमा मुद्धाको सुनवाइ हुनेछ ।

एक्लियो सुजिताको परिवार

काइलो बुवा कोमलनाथ भण्डारीले सुजिताको अन्त्येष्टिसँगै परिवार नै समाजबाट एक्लिएको बताएका छन् । ‘दाहसंस्कार गरिसक्यौँ, गाउँका वल्लोपल्लो घरमा पानी बाराबार छ’, उनले भने, ‘अस्ति राति भाइ बिरामी परेछ, यहाँबाट हामी गयौँ । बेहोस हुने, काम्ने भएछ । तर छिमेकीले हेरेनछन् ।’

कोमलनाथ सुजिताको घरभन्दा करिब १२ किमि पर खैरहनी–९ डाँडागाउँमा बस्छन् । सुजिताका बुबा यज्ञप्रसाद कान्छा भाइ हुन् । उनीहरुका ५ दाजुभाइ छन् ।

‘हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने गाउँको अडान थियो, माइती पक्षले गाउँसँग सल्लाह मिल्यो भनेर शव ल्याए’, उनले भने, ‘तर अहिलेसम्म सुजिताको घर कोही जाँदैनन्, परिवार नै बहिष्कारमा पर्यो ।’

पोष्टमार्टम गर्न शव काठमाडौं लगिएपछि राप्तीमा आन्दोलन चर्केको थियो । सुजिताको घर नजिकैको राजमार्गमा प्रर्दशनहरु भए । जिल्ला प्रशासनले कफ्र्युसमेत लगाउनुपरेको थियो ।

तर, आजकल उनको घर सुनसान छ । सुजिताको शव ल्याउन भूमिका खेलेका मावली पक्षले गाउँमा आएर सुमधुर सम्बन्ध बनाउनुपर्नेमा जोड दिए ।

राप्ती–३ का वडाध्यक्ष राजकुमार उप्रेतीले यसबारे जानकारी नभएको बताए ।

कोमलनाथलाई सेटिङको आरोप

सुजिताका काइलो बुबा कोमलनाथ शव काठमाडौं लैजानेबेला सँगै थिए । पोष्टमार्टम गर्नेबेला उतै थिए । जब सुजिताको शव साउन ४ गते देवघाट ल्याएर अन्त्येष्टि गरियो, त्यसपछि उनलाई केस डिसमिस पारेको आरोप लाग्यो । सेटिङ गरेको आरोप झेल्नुपर्यो ।

‘पोष्टमार्टमपछि शव ल्याउन खोजिएको थियो, स्थानीयले जे भन्छन्, त्यहीं मान्छौँ भनेर शव बुझ्न मानिनँ’, उनी सम्झन्छन्, ‘पछि सुजिताकै मावलीहरुले लैजाउँ भन्नुभएछ, म यतै थिएँ, आरोप मैले सुन्नुपरेको छ ।’ सुजिताका मामाका छोरा, माइजू र सानोबुवाले शव ल्याउन पहल गरेको उनी बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *