लन्डन । समान पेन्सन लगायतका माग राख्दै बेलायती सेनामा कार्यरत भूतपूर्व गोर्खा सैनिकले थालेको आमरण अनसनको आज एकसाता पुरा भएको छ । ब्रिटिस गोर्खाको यो अनसन कार्यक्रमलाई लिएर बेलायती राजनीतिमा समेत बहस छेडिएको छ ।
बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले पनि गोर्खाहरुको मागमा ऐक्यबद्धता जनाएको छ । यसैबीच, बेलायती सांसदहरुले प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेख्दै गोर्खालीको मागलाई तत्काल सम्बोधन गर्न माग गरेका छन् ।
बेलायती संसदको सर्वदलीय समितिको नेपाल अध्यक्ष वीरेन्द्र शर्मासहित सांसदहरु सीमा मलहोत्रा, नभेन्दु मिश्र, निक स्मिथ, अलान डोरान्स, डान जार्भिस, लर्ड बिलमोरिया, लर्ड ढोलकिया र लर्ड शेखले शुक्रबार प्रधानमन्त्री जोन्सनलाई पत्र लेख्दै समस्या समाधानको माग राखेका हुन् ।

आमरण अनसन बसिरहेका गोर्खाहरुलाई भेट्न र उनीहरुको अभियानलाई समर्थन गर्न पनि जोन्सनलाई उनीहरुको माग छ । जोन्सनले वार्ता सुरु गर्दा अनसनमा बसेका गोर्खाको ज्यान बच्न सक्ने र गोर्खालीको मुद्दाप्रति सरकार गम्भीर छ भन्ने सन्देश जाने पत्रमा उल्लेख छ । नेपाल समितिले यसअघि पनि गोर्खाको समस्याको निश्पक्ष समाधान हुनुपर्नेमा जोड दिएको पत्रमा जनाइएको छ ।
गत शनिबारदेखि ज्ञानराज राई, धन गुरुङ र पुष्प घले आमरण अनशनमा बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था नाजुक बनेको जनाइएको छ । चौतर्फी विरोध हुँदा पनि बेलायतले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

Leave a Reply