आज नागपञ्चमी पर्व । हिन्दू धर्मावलम्वीले भगवान शिवको रक्षाकवचका रुपमा रहने नागको पूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन घरघरमा नागको चित्र टाँस्ने, नागपोखरी र नाग थानहरुमा गएर पूजा गर्ने प्रचलन छ ।
आठ प्रकारका नागको पूजा गरी दूवो, गाइ दूघ, घिउ र भेटी चढाउनुका साथै कुल नाग थानमा विशेष पूजा गरी खीर, रोटी लगायत प्रसाद अर्पण गरिन्छ । गाईको गोबर भएको स्थानमा नागको भय नहुने भएकाले पनि गोबरको पनि बिशेष महत्व रहेको शास्त्रमा उल्लेख गरिएको छ ।
आजको दिन घरको मूल ढोकामाथि नागको चित्र टाँस्नाले नाग खुसी हुने र वर्षभरि नै चट्याङ, आगलागीजस्ता दुर्घटना हुन नदिने तथा सर्व विच्छीजस्ता घातक जीवबाट रक्षा हुने शास्त्रीय मान्यता रहेको पाइन्छ ,
नागपञ्चमीका दिन पशुपतिको बासुकी, नक्सालको नागपोखरी, टौदह, ललितपुरको धापाखेल नागदह लगायतका स्थानमा मेला लाग्ने गर्छ । तर कोरोना महामारीका कारण आवश्यक नित्य पूजा बाहेक सबै स्थानमा सर्वसाधारणले पूजा गर्न पाउने छैनन् ।
यसैबीच ज्योतिष पण्डित सुरेशचन्द्र रिजालले यस वर्ष नागपञ्चमी शुक्रबार परेकारे अझै विशेष रहेको उल्लेख गरेका छन् । ‘यसवर्ष श्रावण २९ गते शुक्रबारका दिन परेको कारणले पनि यसलाई अगस्त नाग पञ्चमी भनेर व्याख्या गरिएको छ । पूर्णरूपमा पृथ्वीको भारलाई धारणा गर्नसक्ने शेषनाग भगवान् शिवजीको मुख्य गहनाका रुपमा रहेर देव,दानव तथा किन्नर लगायतलाई पूजा गर्ने पर्वका रुपमा रहेको उल्लेख गरिएको छ,’ दक्षिण एसियाली ज्योतिष महासंघ, राष्ट्रिय समिति नेपालका महासचिवसमेत रहेका रिजालले प्रष्ट पारे ।
क्लपक्षको पञ्चमी तिथिलाई मुख्य रुपमा नाग पूजाको पर्वका रुपमा मनाउने प्रचलन सदीयौंदेखि चलिआएको छ । धार्मिक आस्थाका प्रतिकका रुपमा पनि यस दिन विशेष नगदेवताको पुजागर्ने शास्त्रीय प्रमाण रहेको छ ।
वैदिक ग्रन्थमा १२ प्रकारका नागहरुको व्याख्या गरिएकोछ । अनन्त, वासुकी, शेष, पधद्म, कम्बला, कर्कोटक, अश्वभतरा, धृतराट्र, शङ्कपला, कालिया, तक्षक र पिङ्गला गरि १२ प्रकारका नागहरुको पूजा गर्ने गरिएको छ ।
यसदिन विशेष रुपमा नागको पुजा गर्नाले हरेक प्रकारका दुख,कष्ट समाप्त भई राहु र केतु ग्रहबाट पर्नगएको नागदोष तथा पितृ दोष पनि शान्ति हुने शास्त्रीय नियम रहिआएको छ ।
प्राण प्रतिष्ठा गरिएको शिवलिंगमा चादिबाट बनाईएको नाग र नगिन अथवा धातुबाट निर्माण गरिएको नागको प्रतिमामा पूजा गरेर दान गरेमा सम्पूर्ण पितृ दोष तथा नागदोष शान्ति हुने प्रमाण शास्त्रमा उल्लेख गरिएको छ ।
यसको एतिहासिक सम्बन्ध महाभारतसँग जोडिएको प्रमाण पाइन्छ । परिक्षित् नाग गरेका राजालाई तक्षक नाम गरेको नागेले टोकेर उनको मृत्यु हुन्छ । उनका छोरा जनमेजयले बुबाको मृत्युको बदलालिनका लागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने कार्य प्रारम्भकालागि सर्पयज्ञ सुरुगरे र उक्त यज्ञमा सिद्ध ऋषिमुनी तथा साधु पण्डितहरुलाई आमन्त्रण गरेको प्रमाण उल्लेख गरिएको छ ।
उक्त यज्ञमा तक्षक नाग बाहेक सम्पूर्ण सर्पहरु भस्म भएको महाभारतमा उल्लेख गरिएको छ । यसदिन नागदेवतालाई दूध र दूधबाट बनाइएको परिकार चढाउने नियम रहिआएको छ ।

Leave a Reply