काठमाडौं । दार्चुला घटनाको अनुसन्धानमा भारतले ‘असहयोग’ गरेको छ । भारतीय सीमा सशष्त्र प्रहरी बल (एसएसबी)ले तुइन फुकाल्दा महाकालीमा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजीका लागि भारतले ड्रोन उडान गर्न अनुमति नदिएको हो ।
ड्रोन उडाउन अनुमति मागेको पाँच दिन बितिसक्दा पनि भारतको पिथौरागढ जिल्ला अधिकारीले अनुमति नदिएको दार्चुलाकी निमित्त सीडीओ ज्योत्सना भट्ट जोशीले बताइन् ।
नौ दिनसम्म पनि धामीको शव फेला नपरेपछि २३ साउनमा दार्चुला जिल्ला प्रशासनले ड्रोनबाट खोजीका लागि भारतीय प्रशासनलाई आग्रह गरेको थियो । सीमामा ड्रोन उडाउन दुबै देशको सहमति आवश्यक पर्छ ।
भारतले अनुमति नदिएपछि महाकाली नदीको नेपाली साइडमा ड्रोन उडाएर धामीको खोजी गरिने सहायक सीडीओ जोशीले जानकारी दिइन् । घटनाको छानविनका लागि गृह मन्त्रालयद्वारा गठित समितिको म्याद सात दिन थपिएको छ ।
परराष्ट्र मन्त्रालय समेत छानविन समितिको प्रतिवेदन कुरेर बसिरहेको छ । संसदमा बोल्दै सांसदले तत्काल भारतीय समकक्षीसँग वार्ता गर्न प्रधामन्त्री शेरबहादुर देउवालाई आग्रह गरिरहेका छन् ।

Leave a Reply