थापाथली अस्पतालमा शिशुका लागि ‘ह्युमन मिल्क बैंक’ राखिँदै (भिडियो)

काठमाडौं । शिशुलाई आमाको दूधमात्रै खुवाउने प्रोत्साहित गर्न ‘ह्युमन मिल्क बैंक’ स्थापनाको तयारी गरेको छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आज पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक राख्न लागिएको हो । दूधको कमी हुने बच्चालाई प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर संकलन गरी मेसिनमा राखिने र चिकित्सकको सल्लाहअनुसार खुवाइने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिए ।

‘कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरूको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने तयारी गरेको हो’, पराजुलीले भने, ‘जुन आमाको दूध तत्काल आउँदैन वा कमी छ, त्यस्ता बच्चालाई सो बैंकमा राखिएको दूधको व्यवस्था गर्नेछौं ।’

दूध मौज्दात गरेर राख्न १ करोडको मेसिन खरिद गर्ने तयारी गरिएको पनि कार्यक्रममा जानकारी गराइयो । आमाको दूधलाई विस्थापित गर्ने गरी आएको ‘ल्याक्टोजिन’को विज्ञापन नगर्न, नगराउन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइसकिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । पराजुलीले भने, ‘ल्याक्टोजिनको विज्ञापन कहीँ भएको पाईए त्यसउपर कडा कारवाही हुन्छ ।’

आजबाट शुरू विश्व स्तनपान सप्ताह साउन २३ सम्म चल्नेछ । ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ मनाउन सुरु गरिएकोसो सप्ताहमा सबै स्थानीय तहमा समेत जनचेतनामूलक कार्यक्रम आयोजना हुने व्यवस्था मिलाइएको छ ।

शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने र त्यसभन्दा माथि उमेर पुगेपछि अन्य थप पोषणको पनि व्यवस्था गर्न सो सप्ताह मनाउने गरिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *