काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको एक प्रस्तावलाई लिएर सामाजिक सञ्जालमा ठूलो समूह उनीविरुद्ध खनिएको छ । पार्टीभित्रकै एउटा धारका नेताहरु उनीसँग चरम असन्तुष्ट बनेका छन् ।
विवेकशील साझाका केन्द्रीय सदस्य तथा पूर्वाधारविद् किशोर थापा भने अहिले उत्पन्न भएको प्रतिक्रियाको आँधीलाई अतिरञ्जित ठान्छन् । बहसका लागि जनतामाझ ल्याइएको विचारसँग कोही पनि आत्तिनु नपर्ने उनको भनाइ छ । मिश्रको प्रस्ताव व्यक्तिगत भएको भन्दै यसले पार्टीलाई विभाजनतर्फ नलैजाने विश्वास उनले व्यक्त गरे ।
थापाले नेपाल प्रेससँग भने, ‘उहाँले जुन विचार अघि सार्नुभएको छ, त्यो उहाँको व्यक्तिगत हो भन्ने स्पष्ट नै छ । राजनीतिमा जनतालाई वेवकुफ बनाउनेगरी अनेक नौटंकी गर्नुभन्दा विचारहरू स्पष्ट रूपमा ल्याएकै राम्रो हो ।’
यस प्रस्तावले अत्यावश्यक बहसको लागि ढोका उघारेको उनी बताउँछन् । यस्तो बहसले लोकतन्त्रलाई नै बलियो बनाउने उनले तर्क गरे ।
‘हाम्रो पार्टीको कुरा मात्रै होइन यो । यस्ता मुद्दामा आम नेपाली समाजमै छलफल आवश्यक हुन्छ । छलफल, चिन्तन, मनन गर्दै, जनताका कुराहरु बुझ्दै माथि आयो भने ठिक छ नि । लोकतन्त्र भनेकै यही होइन र ? गाउँ-गाउँमा, शहर-शहरमा, घर-घरमा छलफल गरौं न । त्यसले लोतन्त्रलाई बलियै बनाउँछ नि,’ थापाले भने ।
सामाजिक सञ्जालमा आएका उग्र प्रतिक्रियाहरूले नेपाली राजनीति र समाजको यथार्थ चित्र प्रस्तुत गरेको उनले बताए ।
थापाले भने, ‘हामी लोकतन्त्र, लोकतन्त्र भन्छौं । तर, कसैले आफ्नोभन्दा फरक विचार राख्नासाथै उसलाई प्रतिगमनकारीको विल्ला लगाइहाल्छौं । लोकतान्त्रिक समाजको चरित्र यस्तो हुनु नपर्ने हो । कसैले आफूलाई मन परेको कुराजति अग्रगमन, मन नपरेको प्रतिगमन मानेर हुन्छ र ?’
उनले अमेरिकाको उदाहरण दिए, ‘अमेरिकाजस्तो देशमा पनि कम्युनिष्ट पार्टी छ । त्यहाँ कम्युनिष्टहरुले भाषण गर्दा प्रतिगमनकारी भनेर गाली गरिएको सुनिँदैन । हाम्रोजस्तो विभिन्न जाति, भाषा र धर्म भएको बहुल समाजमा यस्तो संस्कार झन् आवश्यक हुन्छ ।’
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा तपाईंको व्यक्तिगत धारणा चाहिँ के हो ? नेपाल प्रेसको यो जिज्ञासामा उनले कुटनीतिक जवाफ दिए ।
उनले भने, ‘पार्टीले लिने मुद्दा तथा विचारहरू समयसापेक्ष हुन्छन् । देशकाल, समय र परिस्थितिअनुसार विचारहरू परिमार्जन गर्दै जानुपर्छ । सधैँ यही ठीक र यही बेठीक हुँदैन । जस्तो २०३६ सालमा जनमत संग्रह भयो र पञ्चायतले जित्यो । तर, त्यसको १० वर्षपछि जनआन्दोलनको बलमा पञ्चायत पराजित भयो । त्यसकारण जनभावना नै सबैभन्दा महत्वपूर्ण कुरा हो । थोरै मान्छेले सामाजिक सञ्जालमा लख्दैमा त्यो जनअभिमत हुँदैन ।’
अध्यक्षको विचार पार्टीमा स्थापित हुन सक्ला त भन्ने प्रश्नमा थापाले जवाफ दिए, ‘सर्वप्रथम त पार्टीमा उहाँले यो प्रस्तावलाई प्रवेश गराउनुभएकै छैन । शुरूमा केन्द्रीय कमिटीमा जानुपर्यो, केन्द्रीय कमिटीले महाधिवेसनमा लैजाने निर्णय गर्नुपपर्यो, अनि महाधिवेशनबाट पारित हुनुपर्यो । त्यसपछि बल्ल पार्टीले अपनत्व लिने हो । अहिलेसम्म यो उहाँको व्यक्तिगत विचार मात्र हो ।’

Leave a Reply