सर्वोच्चमा टोपबहादुर रायमाझीको निवेदन- म माओवादीमै छु, कारवाही बदर गरी पाउँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को कारवाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका एमाले नेता टोपबहादुर रायमाझीले पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले बुधबार दायर गरेको रिटमा आफू माओवादी केन्द्रमै भएको रेकर्ड निर्वाचन आयोगमा रहेको भन्दै कारवाही बदरको माग गरेका छन् । उनले आफूले दल परिवर्तन गरेको भन्दै गरिएको कारवाही पनि झुठा भएको दावी गरेका छन्।

‘म निवेदकले अर्को दल गठन गरेको पनि छैन,’ उनको रिट निवेदनमा उल्लेख छ, ‘मिति २०७८/३/२३ मा निर्वाचन आयोगमा निवेदन गरी ने.क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको नाम लिष्टको प्रमाणित प्रतिलिपि उतार गरी लिएकोमा मिति २०७८/३/२३ को आयोगको रेकर्ड अनुसार म नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति सदस्यमा छु । ने.क.पा. एमालेको केन्द्रीय कार्यसमितिको लिष्टमा छैन।’

दल परिवर्तनको आरोप झुट्टा भएको भन्दै उनको भनाइ छ, ‘दुवै आयोगबाट प्रमाणित लिष्ट आयोगको मिति २०७८।३।२३ को प.सं. ०७७१७८ च.नं. २५९ को पत्र साथ मलाई प्राप्त भएका र पत्र तथा दुवै दलको लिष्ट निवेदन साथ पेश गरेको छु । यस कारण दल परिवर्तन गरेकै छैन । झुट्टा आरोप लगाई गरेको कारवाही बदर गरी पाउँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *