भूकम्पले घर भत्काएपछि पालमुनि बस्न बाध्य दैलेखको दलित परिवार

सुर्खेत । साउन ३ गते राति ९ बजे पश्चिमी दैलेख केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पको धक्का त्यति ठूलो त होइन तर ढुंगामाटाेले बनेकाे कच्ची घर भत्किएपछि यहाँका एक दलित परिवारको पालमूनि बस्न बाध्य भएकाे छ ।

भूकम्पले आठबीस नगरपालिका–३ कुमालखाडाकी जुना विकको घर भत्काएको हो । आर्थिक अवस्था अत्यन्तै दयनीय एकल महिला जुना विक गाउँमै ज्यालादारी गरेर जीवन चलाउँदै छिन् ।

भूकम्पले घर भत्काएपछि गाउँलेको सहयोगमा बनेको पालको अस्थायी निपासमा छोरा र छोरीसहित बस्दै आएकी छन् । गाउँमा अरु कसैलाई केहि भएन । उनकै घरमात्र भत्कियो । ‘जसको यो संसारमा केहि छैन, जो सँग कोहि छैन, भूकम्पले पनि त्यस्तैलाई दुख दियो,’ निराश हुँदै उनले भनिन् ।

उनले ज्याला मजदुरी गरेर छोरा छोरी पाल्दै आएकी छन् । ‘गाउँमा काम गरेर कसरी घर बनाउन सकौंला र ? भारतमा गई काम गर्न सक्ने मेरो अवस्था पनि छैन । छोराछोरी सानै छन्,’ उनले भनिन्, ‘कसैले सहयोग गरि घर मात्रै बनाइदिएको भए मेरो उद्दार हुन्थ्यो ।’

यता, आठबीस नगरपालिकाका नगरप्रमुख खडगराज उपाध्यायले उनको घर बनाई दिने आश्वासन दिएका छन् । ‘म अहिले सुर्खेतमा छु । नयाँ बजेट अब कार्यान्वयनमा जान्छ । म नगरपालिका पुग्दा वित्तिकै नगरपालिकाले उनको घर बनाउन सहयोग गर्छ,’ उनले नेपालप्रेससँग टेलिफोन कुराकानीमा भने, ‘धेरै ठूलो सहयोग गर्न नसके पनि उहाँको परिवारलाई पालबाट छानामा ल्याउन हामी पहल गर्छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *