‘उदाउँदो मणी’ भन्दै भरतमणीका लागि योगेश भट्टराईले भोट मागे

काठमाडौं । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो सिजन अहिले उत्कर्षमा पुग्न लागेको छ । उपाधिका लागि अब अन्तिम ५ प्रतिस्पिर्धीहरु भिडन्तमा छन् ।

उपाधि दौड नजिकिएसँगै दर्शकको कौतुहल र प्रतिस्पर्धीहरुको मुटुको धड्कन बढ्दो छ । प्रतिस्पर्धीहरुले आफूलाई भोट गरेर जिताउन सामाजिक सञ्जालमार्फत अपिल गरिरहेका छन् । यसै सिलसिलामा केही हाइ प्रोफाइल व्यक्तिहरुले पनि आ-आफ्ना प्रिय प्रतियोगीका पक्षमा लविङ गर्न थालेका छन् ।

केही दिनअघि सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आफ्नै क्षेत्रका प्रतिस्पर्धी विक्की अग्रवाललाई भोटिङका लागि पाँच लाख भारु सहयोग गरेका थिए । विक्कीलाई भोट गरेर जिताउन उनले आफ्नो समुदायमा आह्वान पनि गरेका छन् ।

यसैबीच दोस्रो सिजनका चर्चित प्रतिस्पर्धी भरतमणी पौडेलका लागि एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा भोट मागेका छन् । भरतमणीलाई ‘हास्यव्यंग्य क्षेत्रको उदाउँदो मणि’ संज्ञा दिँदै उनले भोट मागेका हुन् ।

योगेशले लेखेका छन्, ‘कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्रछाँयामा हाम्रै गाउँ र घरमा हुर्केबढेका यी ताप्लेजुङे ठिटो हाम्रो प्रिय त छँदैछन्, त्यो भन्दा बढी यिनी प्रतिभाशाली छन् । त्यसैले कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यिनको दौडमा भोटमार्फत् होस्टेमा हैंसे गर्दा सबै नेपाली दिदिबहिनी तथा दाजुभाइले पनि आनन्दको अनुभूती गर्नुहुनेछ ।’

यद्यपि यो आफ्नो व्यक्तिगत अनुभूति मात्रै भएको योगेशले बताएका छन् । उनले सबै प्रतियोगीलाई शुभकामना दिएका छन् । भरतमणीका लागि योगेशले यसअघि नै १ लाख रुपैयाँ पुरस्कारको घोषणा गरिसकेका छन् ।

उनीसहित ताप्लेजुङका विभिन्न निकायबाट ६ लाख रुपैयाँ दिने घोषणा भएको छ । यो रकम कमेडी च्याम्पियन सकिएपछि प्रदान गरिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *